Kakhara सबैको खबर सम्पूर्ण खबर
थवाङमा आयोजित भलिबलमा पुरुष तर्फ आयोजक थवाङ र महिला तर्फ भूमे प्रथम

रोल्पाको थवाङमा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । थवाङ गाउँपालिका वडा नम्बर २ रोल्पाले आयोजना गरेको खुला पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । रुकुम पश्चिम, रुकुम पूर्व, बाग्लुङ र रोल्पाका गरी आठ टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगितामा आयोजक थवाङ गाउँपालिका प्रथम भएको छ ।  

फाइनलमा तमानखोला गाउँपालिका बाग्लुङलाई पराजित गर्दै आयोजक प्रथम भएको हो । प्रथम हुने आयोजकले नगद ७० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको तमानखोला गाउँपालिकाले नगद ५० हजारको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

बाँफिकोट गाउँपालिका रुकुम पश्चिम तेस्रो र भूमे गाउँपालिका रुकुम पूर्व सान्त्वना थवाङ गाउँपालिका वडा नम्बर २ का सदस्य तथा खेल संयोजक अभिलाषा रोका मगरले जानकारी दिनुभयो । दोस्रो तेस्रो हुने बाँफिकोट गाउँपालिकाले नगद ३५ र सान्त्वना हुने भूमे गाउँपालिकाले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । 

त्यस्तै महिला भलिबल तर्फ पाँच टिमले प्रतिस्पर्धा गरेकोमा भूमे गाउँपालिका रुकुम पूर्व प्रथम भएको छ । हिजो भएको फाईनल खेलमा परिवर्तन गाउँपालिका रोल्पालाई हराउँदै भूमे प्रथम भएको हो । प्रथम हुने भूमेले नगद ३५ हजारको साथ कप, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने परिवर्तन गाउँपालिकाले नगद २५ हजार, कप मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । आयोजक थवाङ गाउँपालिका तेस्रो हुदै नगद १५ हजार हात पार्न सफल भएको छ भने थवाङ गाउँपालिकाकै नबब्रहा सान्त्वना भएको छ । उसले नगद १० हजार पाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update