Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियो सानीभेरीको भवन शिलान्यास 
भवन शिलान्यास गर्दै कर्णाली प्रदेशका पूर्व मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम ।

रेडियो सानीभेरी एफ.एम.१००.८ र ८९.२ मेगाहर्जको भवन शिलान्यास भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगाको कालिकास्थान देखि जिल्ला प्रशासन रोडमा नजिकै निर्माण हुन लागेको भवनको शिलान्यास भएको हो । कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । कर्णाली प्रदेश सरकारको शसर्त अनुदानबाट भवन निर्माण हुन लागेको हो । बजेट कार्यान्वयन मुसीकोट नगरपालिकाले गर्न लागेको हो । 

चालु आर्थिक वर्षमा २ तले भवन बन्ने छ । भवन भने ५ तलाको हुने छ । २ तला भन्दा माथिको काम भने अर्को वर्षदेखि हुने रेडियोका प्रवन्धक ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । आज एक कार्यक्रमका विच भनवको शिलान्यास भएको हो । भवन शिलान्यास गर्दै कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य गोपाल शर्माले पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंग भनिएपनि आवश्यकता अनुसार सहयोग गर्न प्राप्त हुन नसकेको बताउनुभएको थियो । सञ्चार माध्यमहरुमा सरकारले सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । 

अभावका विचमा पनि आमसञ्चार माध्यमहरुले नागरिकहरुलाई सुसुचित बनाउन भने महत्वपूर्ण भुमिका खेलेको भन्दै सञ्चार माध्यमको प्रशंशा गर्नुभएको थियो । रुकुम आसपासका क्षेत्रमा रेडियो सानीभेरी सूचना सञ्चारको सारथिका रुपमा रहेको उहाँको भनाई थियो । 

रेडियोका प्रवन्धक बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माको प्रमुख र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गोतमको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका बिज्ञान, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रेडियो सानीभेरी संचालक समितिका सदस्य दलबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन रेडियो सानीभेरीका बजार अधिकृत देवकुमार ओलीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update