नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम–डोल्पा कमाण्ड इन्चार्ज राजकुमार शर्माले परिवर्तनको रक्षा युवाको हातमा रहेको बताउनुभएको छ । देश परिवर्तनको सवालमा पटक पटक भएका आन्दोलन सफल बनाउन र त्यसको संस्थागत गर्न युवाहरुके महत्वपूर्ण हात रहेको शर्माको भनाई छ ।
माओवादी केन्द्रको सहायक संगठन वाइसीएल बाँफिकोट गाउँपालिकाको दोस्रो भेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले जनयुद्धको पृष्ठभूमी र जनयुद्धको क्रममा युवाहरुले गरेको योगदानले पनि युवाहरुको ताकत प्रमाणित भइसकेको बताउनुभयो ।
हरेक परिवर्तन र विकास निर्माणमा युवाहरुकै हात महत्वपूर्ण हुने भन्दै उहाँले अब पनि युवा विना विकास निर्माण र अरु परिवर्तन सम्भव नहुने भन्दै उहाँले यसतर्फ युवाहरु सचेत रहनुपर्नेमा जोड दिनुभयो । जिल्लाको विकास निर्माणको सन्दर्भमा कुरा गर्दै नेता शर्माले हेलिकोप्टरबाट डोजर ओसारेर थालिएको विकासले आधारभुत तहको काम सम्पन्न गरेको बताउनुभयो ।
५ वर्षे कार्यकाल पूरा गर्दै गर्दा रुकुम पश्चिमका स्थानीयले विकासको गतिमा अघि बढेको भन्दै नेता शर्माले यसको पूर्णताका लागि अब माओवादीको विकल्प नरहेको बताउनुभयो । संघीयता, गणतन्त्रका लागि माओवादी र माओवादी सम्बद्ध युवाहरु लड्दै गर्दा त्यसको विरोध गर्नेहरुले सरकार र सत्ताको दावी गर्नु हास्यास्पद भएको शर्माको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वाइसीएल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह संयोजक शैलेश शर्माले युवाको शक्ति विना केही नहुने भन्दै युवाहरु सचेत ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । युवामा पनि वाइसीएलमा आवद्ध युवाहरु बढी सचेत रहेको भन्दै शर्माले आगामी दिनमा पनि वाइसीएलले आफ्नो भूमिका भुल्न नहुने बताउनुभयो ।