
नेकपा कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, असान्दर्भिक भएको बताउनुभएको छ । नेकपा (प्रचण्ड माधव नेपाल समूह)को रुकुम पश्चिमले गरेको जिल्ला स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता ज्वालाले समग्र राष्ट्रलाई नै असजिलोमा पार्ने गरी गरिएको कदमको व्यापक विरोध भइरहेको बताउनुभयो ।
नेपाली जनताले नसोचेको, संविधानले नचाहेको र नेपाल कम्युनिष्ट पार्टीले पनि नचाहेको कदम केपी ओलीबाट भएको नेता ज्वालाले बताउनुभयो । यो कदम जनताको भावना विपरीत भएकाले जनताप्रति कुठाराघात भएको उहाँले बताउनुभयो । ५ वर्षे कार्यकाल रहेको प्रतिनिधि सभा ३ वर्षमै विघटन हुने कुनै कारण नभएको भन्दै नेता ज्वालाले सनकको भरमा प्रधानमन्त्रीले चालेको कदम सदर गर्ने राष्ट्रपतिको कदम पनि कानूनसंवत नभएको उल्लेख गर्नुभयो ।
कानूनका धारा, उपधारा हेर्दै नहेरी गरिएको कदमका विरुद्ध देशभरबाट भइरहेको आवाजको सम्बोधन अदालतबाट हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । फरक प्रसंगमा नेता ज्वालाले केपी ओलीको कदमले फेरि एकपटक जनता, कम्युनिष्ट आन्दोलन कमजोर बन्ने स्थिति आएको बताउनुभयो । १२ बुँदे सहमतिदेखि नै पूर्व एमाले र माओवादीको सहकार्य भइरहेको भन्दै उनले अन्तत भएको पार्टी एकता भत्काउन लागेको अदृश्य शक्तिको गोटी केपी ओली बनेको नेता ज्वालाको भनाई छ ।प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा दुवै पार्टीले साझा उम्मेदवार छनौट गरेका कारण जनताले दुई तिहाई मत दिएपनि त्यसको परिपालना र महत्व र संविधानको मर्म विपरीत केपी ओलीको कदम रहेको बताउनुभयो ।
निर्वाचनताका गरिएको साझा उम्मेदवार अन्तत पार्टी एकतामा पुर्याएपछि जनता खुसी भएको, पार्टी समग्र विकास निर्माण, समृद्धि र समाजवादतर्फ लम्किरहेका बेला केपी ओलीको पछिल्लो कदमले केही अलमलमा पारेपनि अन्तत नेकपाले आफ्नो अभिष्ट पूरा गरेरै छाड्ने उहाँको भनाई छ । अहिलको पहिलो प्राथमिकता प्रतिगमनका विरुद्ध सशक्त संघर्ष भएको ज्वालाले बताउनुभयो । आन्दोलन, जनदवावको विकल्प नभएको भन्दै उहाँले अदालत, निर्वाचन आयोगलाई ठिक निर्णयका लागि वातावरण बनाउनेतर्फ केन्द्रीत हुन सबैलाई आग्रह पनि गर्नुभएको छ ।