नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले अहिलेको लडाइँ भनेको संविधानका रक्षक र संविधानको खिलापमा रहेकाहरुबीचको भएको बताउनुभएको छ । संविधान कार्यान्वयन गर्ने, संविधानमा उल्लेख भएका अधिकार सम्बन्धित समुदायलाई दिने र आफै शासक हुने प्रबृतिका बीचमा मुख्य लडाई भइरहेको नेता शर्माको भनाई छ । नेकपा (प्रचण्ड माधव नेपाल समूह)को रुकुम पश्चिम जिल्ला कमिटिले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले जनताको हित गर्ने वर्ग र आफ्नो मात्रै हित होस् भन्ने वर्गबीचको लडाई भइरहेकाले यसमा सशक्त ढंगले लाग्नुपर्ने बताउनुभयो ।
केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम जनताको खास विपक्षमा रहेको नेता शर्माले बताउनुभयो । राष्ट्रियता बचाउने र आत्मसमर्पण गर्ने बीचको लडाइमा जनता राष्ट्रियताको पक्षमा र केपी ओली आत्मसमर्पण गर्ने पक्षमा रहेको जिकिर नेता शर्माको छ । ‘कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी भएका कदमले नेपालको संविधानमाथी नै आक्रमण गरेको भएको छ,’ नेता शर्माले भन्नुभयो, ‘संविधानमा जनताका अधिकार केन्द्रीत गरिएको छ, यि अधिकारबाट जनतालाई बञ्चित गर्न पछिल्लो कदम आएको प्रष्टै छ ।’ यसैले नेकपा जनतासित रहेर यसको विरुद्धमा सडकमा जानु परेको भनाई उहाँको छ ।
पार्टी निर्माण र एकताको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले बदमासी गरेको भनाई नेता शर्माको छ । पार्टी एकताको बेला अध्यक्ष पद एउटा र व्यक्ति दुईवटा भएकाले त्यसलाई समानताको आधारमा र आवश्यक्ताका आधारमा सञ्चालन गर्ने निर्णय केपी शर्मा ओलीले लत्याएर हिडेपछि समस्या भएको उहाँको दावी छ । पार्टी एकतापूर्व र पार्टी एकता भइ सरकार बनेपछि केपी शर्मा ओली सहमती, सम्झौता विरुद्ध लागेको उहाँले बताउनुभयो ।
सरकार बनेलगत्तै पार्टीलाई वेवास्ता गरेर केपी शर्मा ओलीले शक्ति केन्द्रीततिर लागेकाले समस्या भएको कुरा जनताले प्रष्ट बुझेको पनि उहाँले बताउनुभयो । पार्टीलाई वास्ता नगरेर मनपरी ढंगले हिड्दै गएपछि केपी शर्मा ओली एक्लिदै गएको पनि जनताले बुझेको शर्माले बताउनुभयो । जनताको आर्थिक स्तर उकास्नका लागि हरेक व्यक्ति अब उत्पादनमा जोडिनुपर्ने शर्माको भनाई छ । जनतालाई सहयोगका लागि स्थानीय, प्रदेश सरकार लाग्ने भन्दै उनले युवाहरुलाई पनि त्यसमा एकताबद्ध गराउनुपर्ने बताउनुभएको छ ।
व्यवसायमा संलग्नहरुलाई सहयोगका लागि ऋण लगानीको तयारी भइरहेकाले उत्पादनमा पनि धेरै भन्दा धेरै गर्नुपर्ने बताउनुभयो । जिल्लाको पहिचान कर्णाली प्रदेशमा र कर्णाली प्रदेशको पहिचान देशैभर पुर्याउनका लागि अब कुरा भन्दा काम गर्नुपर्नेमा जोड दिनुभयो । तत्काल उत्पादन दिने र विस्तारै उत्पादन दिने खेतीपाती, उन्नत वस्तुभाउ पालन र हरेक व्यवसायलाई व्यवसायिक नबनाई व्यक्तिको र समग्र राष्ट्रको विकास नहुने भएकाले सबैलाई एकैपटक उत्पादनमा लाग्न अनुरोध गर्नुभएको छ ।