रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ मा रहेको जनकल्याण माविका २ विद्यालय भवन उद्घाटन गरिएको छ । नगरप्रमुख विशाल शर्मा, उपप्रमुख राधा रोका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओली लगायतले भवनको उद्घाटन गरेका हुन् । एउटा १० र अर्को ४ गरी १४ कोठा भएका भवनको उद्घाटन गरिएको हो । संघ, प्रदेश र चौरजहारी नगरपालिकाको सयुंक्त लगानीमा विद्यालय भवन निर्माण भएका हुन् ।
झण्डै डेढ करोड लगानीमा ति भवन निर्माण भएका हुन् । भवन निर्माण भएपछि पठन पाठनमा सहजता आएको शिक्षक विनोद शर्माले बताउनुभयो । विद्यालयका लागि अँझै एक वटा ४ कोठे भवन आवश्यक रहेको शिक्षक शर्माले बताउनुभयो । ल्याब, पुस्तकालय र ऐच्छिक विषय अध्यापनका लागि थप कोठा आवश्यक भएको शर्माले बताउनुभयो ।
विद्यालयमा साढे ४ सय विद्यार्थी अध्ययनरत छन् । भौतिक संरचना अभावमा समस्या झेलिरहेको विद्यालयलाई अब सहज हुने प्रधानाध्यापक झुपलाल शर्माले बताउनुभयो । पटक पटकको माग सम्बोधन गरेको भन्दै उहाँले नगरपालिका तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो । पठन पाठन र अरु कार्य सम्पादनका लागि अब सहज हुने उहाँको भनाई छ ।
भवन उद्घाटन गर्दै नगरप्रमुख विशाल शर्माले टिनका छानामुक्त विद्यालय बनाउने अभियान अन्तिम चरणमा रहेको बताउनुभयो । विकासको मुल आधार शिक्षा भएको भन्दै उहाँले शिक्षाको विकासका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।