रुकुम पश्चिमका एक युवाकले आफ्नो नाममा अर्को विश्व रेकर्ड कायम गरेका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ का मानसिंह ओली ‘प्रभास’ले आफ्नो नाममा अर्को विश्व रेकर्ड कायम गर्नुभएको हो । ओलीले ‘फ्राइङ्ग प्यान’ अर्थात ताप्केलाई लामो समयसम्म एउटा औंलामा घुमाएर रेकर्ड राख्नुभएको हो । ओलीले २ घण्टा २२ मिनेट २२ सेकेण्डसम्म ताक्केलाई हातको औंलामा घुमाएर रेकर्ड राख्नुभयो । यो रेकर्ड मार्च २५ अर्थात चैत्र .११ गते काठमाडौंको बानेश्वरस्थित अर्डर नाउ कम्पनीमा आयोजित एक कार्यक्रममा बनेको हो ।
यस अघि यो रेकर्ड भारतका फायस नजीरको नाममा थियो । उनले १ घण्टा १२ सेकेण्डको रेकर्ड राखेका थिए । ओलीले उक्त रेकर्डलाई दोब्बरले पछि पार्नुभएको हो । ओलीका नाममा बनेको यो चौथो रेकर्ड हो । विभिन्न वस्तुलाई औंलामा नै घुमाएर ओलीले यसअघि नै तीन वटा विश्व रेकर्ड अर्थात गिनिज बुकमा नाम लेखाउनुभएको छ । ओलीले यसअघि गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्रामको किताव ३ घण्टा ४० मिनेट औंलामा घुमाएर पहिलो विश्व रेकर्ड बनाउनुभएको थियो ।
त्यसपछि सबैभन्दा लामो समय प्लेट हातको औंलामा घुमाउने र गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब एक मिनेटमा सबैभन्दा बढी पटक फन्को लगाउने रेकर्ड बनाउनुभएको थियो । ४ घण्टा ४ मिनेट ४४ सकेण्डसम्म प्लेट औंलामा घुमाउनुभएका ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्रामको किताब हातको औंलामा एक मिनेटमा ३ सय ५३ फन्को घुमाउनुभएको थियो । यि दुवै विश्व रेकर्ड हुन् । ओलीले पहिलो रेकर्डको प्रमाण–पत्र पाईसक्नुभएको छ भने दोस्रो र तेस्रोको प्रक्रियामा रहेको ओलीले बताउनुभयो । चौथो रेकर्ड भने भर्खरै बनेकोले प्रमाण–पत्र आउन समय लाग्ने उहाँको भनाई छ ।