Kakhara सबैको खबर सम्पूर्ण खबर
आँखा उपचार केन्द्र सल्लेलाई बाँफिकोट गाउँपालिकाको सहयोग

रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्वर १ मा रहेको आँखा उपचार केन्द्र सल्ले बाँफिकोट गाउँपालिकाले सहयोग गरेको छ । उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा स्तरोन्नती गर्नको लागि बाँफिकोट गाउँपालिका र उपचार केन्द्रबीच सम्झौता भएको छ ।

सर्जिकल सेन्टरमा आवश्यक सामग्री खरिदको लागि बाँफिकोट गाउँपालिकाले आर्थिक सहयोग गर्ने गरी सम्झौता गरेको हो । आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरमा स्तरोन्नती गर्न विभिन्न सामग्री आवश्यक पर्ने भएकाले बाँफिकोट गाउँपालिकाले ३ लाख सहयोग गर्ने भएको हो ।

नेत्र ज्योति संघ रुकुम शाखा सभापति शिवराम खत्री र बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ  । चालु आर्थिक वर्ष भित्र आवश्यक सामग्री खरिद गरी सक्ने गरी सम्झौता भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्जिकल सेन्टरको लागि आवश्यक सामग्री खरिद गरी जडान भएपछि आँखा अप्रेशनको लागि सहज हुने छ । यस अघि मुसीकोट नगरपालिका, कर्णाली प्रदेश अन्तरगत स्वास्थ्य सेवा कार्यालय र आँखा उपचार केन्द्रको आन्तरिक स्रोतबाट विभिन्न सामाग्रि खरिद गरिएको छ ।

गत आर्थिक वर्ष मुसीकोट नगरपालिकाको ५ लाख, कर्णाली प्रदेश सरकार अन्तरगत स्वास्थ्य सेवा कार्यालयको १० र आँखा उपचार केन्द्र सल्लेको २ लाख गरी १७ लाखमा अप्रेटिङ माक्रोस्कोप खरिद गरिएको छ । पहिला किनेको उपकरण सञ्चालनको लागि थप सामाग्रि आवश्यक पर्ने भए पछि बाँफिकोट गाउँपालिकासँग सामग्री किन्न सम्झौता गरिएको प्रमुख केसीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update