रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ३ सय १० किलोमिटर सडक निर्माण गरेको जनाएको छ । पछिल्लो ५ वर्षको अवधिमा नगरका सबै वस्तिमा सडक पुगेको नगरपालिकाले जनाएको छ । सबै वडा जोड्ने क्रममा बनाइएका सडकको लम्बाई ३ सय १० किलोमिटर रहेको नगरपालिकाको पूर्वाधार शाखाले जनाएको छ ।
यही अवधिमा ९ दशमलव २३ किलोमिटर सडक कालो पत्रे भएको छ । चौरजहारी नगरपालिकाको १ नम्बर वडादेखि ११ नम्बर वडासम्मको १५ किलोमिटर सडकको ग्रावेलको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । १ देखि ३ नम्बर वडासम्मको सडकको कालोपत्रेको काम सुचारु भएको छ ।
चौरजहारी–कोटजहारी–जुम्लीपोखरी–नुवाकोट सडक, चौरजहारी–मेलैनाउली–नार्जी–खोलागाउ“–घुघुती–नुवाकोट सडक र चौरजहारी–लहरेसिमल–खोलागाउँ सडक खण्ड स्तरोन्नतीको लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले केही सय मिटर एकाध ठाउँ बाहेक सडक पुर्याउनुपर्ने क्षेत्र नभएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचन अघि १ देखि ३ नम्बर वडा र १ देखि १४ नम्बर वडा जोड्ने एउटा सडक थियो । त्यो लाइनको सडक पनि सजिलै गाडि हिड्ने अवस्थाको भइसकेको थिएन । ट्रयाक ओपन मात्रै गरिएको अवस्थामा चौरजहारी–नुवाकोट सडक थियो ।
यो सडकको स्तरोन्नतीदेखि सबै वडासम्म सडक पुर्याउन चौरजहारी नगरपालिकाले मेहनत गरेको सफलता पनि हात पारेको नगरप्रमुख शर्माले बताउनुभयो । अब सडकलाई स्तरोन्नती गर्न ध्यान दिनुपर्ने भनाई उहाँको छ । ५ वर्षे कार्यकालमा प्राथमिकताका साथ गाउँलाई सडकसँग जोड्ने प्रयास गरिएको र धेरै हदसम्म सफल भइएको नगरप्रमुख शर्माले बताउनुभयो ।