Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका ३३ विद्यालयमा ५५ पक्कि भवन निर्माण
१२ नम्बर वडा स्थित जनकल्याण माविको नव निर्मित भवन उद्घाटनका क्रममा ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कच्चि विद्यालय विस्थापनको अभियान सम्पन्न गर्न लागेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिएको नगरपालिकाले नगरका लगभग अधिकांश विद्यालयका भौतिक संरचना पक्कि बनाइसकेको छ । विद्यालयलाई टिनका छानामुक्त बनाउने कार्यक्रम थालेको नगरले ५ वर्षको अवधिमा ३३ विद्यालय पूर्ण रुपमा छानामुक्त बनाइसकेको छ ।

३३ विद्यालयमा ३ सय ८६ पक्कि कक्षा कोठा निर्माण भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार भौतिक पूर्वाधार पूर्ण भएपछि मात्रै अरु पठन पाठन व्यवस्थित हुने भएकाले नगरपालिकाले सबै विद्यालयका भवन पक्कि बनाउने अभियान थालेको हो ।

नगरका ३७ विद्यालय मध्य अब ४ वटा विद्यालय मात्रै पक्कि हुन बाँकी छन् । ११ नम्बर वडाको बाल कल्याण आधारभुत विद्यालय मुलडाँडा, ज्ञानज्योती आधारभुत विद्यालय माथिसर्केनाको पक्कि भवन बन्न बाँकी छ । यसैगरी १२ नम्बर वडाको जनआस्था आधारभुत विद्यालय पुरानापानी र ६ नम्बर वडाको जनज्योती आधारभुत विद्यालय मुलपानीको भवन बन्न बाँकी छ ।

यी भवन निर्माणको काम पनि लगत्तै सुरु हुने प्रमुख ओलीले बताउनुभयो । नगर भित्र रहेका सबै विद्यालय आधुनिक र पक्कि संरचनाअनुुसार  निमार्ण गरीएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका १४ वटै वडामा पक्कि विद्यालय भवन बनिसकेका छन ।

५ वर्षको अवधिमा चौरजहारी नगरपालिकामा ५५ वटा नयाँ विद्यालय भवन बनेका हुन् । नगरपालिकाको विभिन्न ९ विद्यालयमा विद्यार्थीलाई मनोरञ्नको लागि व्यवस्थित फिल्ड निर्माण गरेको छ । ३७ वटा विद्यालयमा सरसफाईका सुचांक अनुसार स्वच्छ खानेपानी तथा शौचालयको निर्माण गरिएको छ ।

त्यस्तै नगरपालिका भित्र रहेका विभिन्न १७ विद्यालयमा इन्टरनेट र पुस्तकालयको पनी व्यवस्था रहेको  छ । नगरपालिका भित्र  रहेका ३७ वटा आधारभुत तहका  ५ कक्षा सम्मका ५ हजार विद्यार्थी बालबालिकालाई विद्यालय पोशाक स्टेशनरी र खाजाको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।

विद्यालय अनुमति पाएका तर शिक्षक दरबन्दी नभएका विद्यालयका लागि नगर १ सय २८ जना शिक्षक करार शिक्षक नियुक्त गरेर विद्यालयमा पठाइदिएको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले बाँकी रहेका ४ विद्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का लगाउने बताउनुभयो ।

नगरले भौतिक पूर्वाधारका साथमा अरु विभन्नि क्षेत्रमा पनि लगानी गरेको प्रमुख शर्माले बताउनुभयो । शिक्षा र समाज विकासको पहिलो शर्त विद्यालय र बालबालिका भएकाले नगरले पहिलो प्राथमिकताका साथ विद्यालयमा लगानी गरिरहेको नगरप्रमुख शर्माको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update