Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा युवतीका लागि निःशुल्क आधारभूत कम्प्युटर तालिम

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा युवा युवतीका लागि तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजना र साईवरनेटिक इनिष्टच्युट अफ कम्प्युटर टेक्नोलोजी रुकुमकोटको सहकार्यमा आजबाट तालिम सुरु भएको हो ।

तालिममा ४ नम्बर वडाका सात जना युवा युवतीको सहभागिता छ । आधारभूत कम्प्युटर शिक्षा र प्रविधिमा नागरिकको पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता मदन विसीले बताउनुभएको छ ।

तालिमको गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढा र प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले उद्धघाटन गर्नुभएको हो । तालिम उद्धघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाले जनचाहाना अनुसार सिस्ने सरकारले काम गरिरहेको बताउनुभयो ।

जनताको चाहना र रुचि अनुसार नै लघु उद्यम विकास कार्यक्रम मार्फत विभिन्न सिपमुलक तालिम सञ्चालन गरिरहेको उहाँको भनाई छ । गाउँपालिकाले जनताको जिविकोपार्जनमा सहजता ल्याउन धेरै प्रयास र लगानी गरिरहेको छ, उहाँले सहभागीलाई भन्नुभयो त्यस मध्य कम्प्युटर तालिम पनि एक हो । यस्तै प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले विज्ञान र प्रविधिको युगमा हरेक नागरिकसँग प्राविधिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले सक्रिय भएर तालिममा सहभागि भई सिप सिक्न सहभागिलाई आग्रह गर्नुभएको छ । लघु उद्यम विकास कार्यक्रम मार्फत सिस्ने गाउँपालिकाले विभिन्न सिपमुलक तालिम दिदै आएको छ । आर्थिक समृद्धिको आधार लघु उद्यम विकास मार्फत स्वरोजगार भन्ने मुल नाराका साथ विहिबारबाट सुरु भएको तालिम आगामी असार १७ गतेसम्म चल्ने सहजकर्ता विसीले बताउनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update