रुकुम पूर्वको भूमे गाउँपालिकामा निर्मित तीन वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । ३ नम्बर वडाको थामगाउँ, क्याङसी र तुन्वाङमा निर्माण भएका तीन खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । गोर्खा वेलफेर ट्रष्ट र स्थानीयको लगानीमा बनेका यी आयोजनाबाट १ सय ४९ घरधुरी लाभान्वित भएका छन् ।
थाम गाउँको खानेपानी आयोजनाबाट २३ घरधुरी, क्याङसीको आयोजनाबाट ७७ घरधुरी र तुन्वाङको खानेपानी आयोजनाबाट ४९ घरधुरी लाभान्वित भएका छन् । गोर्खा वेल्फेर ट्रष्टले औपचारीक कार्यक्रम गरी खानेपानी आयोजना हस्तान्तरण गरेको हो ।
भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको रोहबरमा ट्रष्टका प्राजेक्ट म्यानेजर विरबहादुर पुनले उपभोक्ता समितिका अध्यक्षहरुलाई खानेपानी आयोजना हस्तान्तरण गर्नुभएको हो । अब खानेपानी आयोजनाको संरक्षण, मर्मत, सम्भार तथा सबै जिम्मा उपभोक्तामा पुगेको छ ।
सबैका घरमा धारा बनेर पनि पानी आउन थालेपछि आयोजना हस्तान्तरण गरिएको म्यानेजर पुनले बताउनुभयो । तीन आयोजनाबाट उपभोक्ताको घरघरमा खानेपानीका धारा निर्माण भएको थाम गाउँ खानेपानी तथा सरसmाई उपभोक्ता समितिका अध्यक्ष उपजन रोकाले बताउनुभयो ।
लामो समयदेखि खानेपानीको समस्या अब हटेको रोकाले बताउनुभयो । गाउँपालिकाको विशेष पहल र ट्रष्टको सहयोगमा घरघरमा धारा बनेर पानी पनि आएको उहाँले बताउनुभयो । यसमा सर्वसाधारणले पनि श्रमदान योगदान गरेका छन् ।
अदक्ष कामदारले गर्नुपर्ने काम, ढुंगा, गिट्टी बनाउने तथा ढुवानीको काम सबै उपभोक्ताले गरेका छन् । आयोजना हस्तान्तरण तथा उद्घाटनमा बोल्दै भूमे गाउँपालिका अध्यक्ष रासमुर बुढा मगरले १ सय ४९ घर र केही सामुदायिक क्षेत्रमा धारा पुगेको भन्दै यसको संरक्षण अब समुदायिकै दायित्व भएको बताउनुभयो ।
लामो समयदेखिको खानेपानीको समस्या अब हटेको भन्दै उहाँले सडक, विजुली र खानेपानीको समस्या समाधान भएपछि अब आर्थिक समृद्धि र रोजगार, स्वरोजगार उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकामा आधारभुत विकासका कुरा पूरा भएको भन्दै आगामी स्थानीय तहको निर्वाचनपछि आर्थिक समृद्धि र रोजगार, स्वरोजगार उत्पादनका लागि नीति, कार्यक्रम तथा बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।