रुकुम पश्चिमको मुसीकोटमा स्वास्थ्य कार्यक्रम सम्बन्धि अन्तरक्रिया तथा छलफल भएको छ । १५ महिना देखि १५ बर्षसम्मका बालबालिकालाई टाईफाइड विरूद्धको खोप लगाउने सम्बन्धि छलफल तथा अन्तरक्रिया भएको हो । स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले टाईफाईट रोग र खोपको प्रभावकारिताका बारेमा जानकारी बनाउनुभएको थियाे । १५ वर्ष मुनिका बालबालिकालाई ११ गुणा बढी संक्रमण हुने हुँदा टाईफाइड विरुद्धको खोप नछुटाई लगाउन जनस्वास्थ्य अधिकृत ओलीले बताउनुभयो ।
फाईफाइड विरुद्धको खोप लगाउने बालबालिकाको संख्या विद्यालयमा ८० प्रतिशत हुने भएकाले पहिलो प्राथमिकता विद्यालयलाई दिइने उहाँले बताउनुभयो । टाईफाइड विरुद्धको खोप देशैभरी सन्चालन भएकाले रुकुम पश्चिममा पनि संचालन गरिने उहाँकाे भनाइ छ । ६ वटै स्थानीय तहमा चैत्र २५ गते देखि बैशाख २ गते सम्म खोप संचालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ । खोप कार्यक्रम संचालनका लागि सबै तयारी पूरा भइसकेको बताइएकाे छ ।साबिक गाविसको एक वडामा दुई वटा खोप केन्द्र रहने गरी ब्यबस्था मिलाईएको छ ।
६ वटा स्थानीय तहमा ३ सय ७५ खोप केन्द्र ताेकिएकाे छ । जसमा ४ सय ८२ स्वास्थकर्मीलाई खटाईने छ । रुकुम पश्चिममा टाईफाईड विरुद्धको खोप लगाउने बालबालिकाकाे संख्या ४५ हजार ८ सय ७५ रहेको जनस्वास्थ्य अधिकृत ओलीले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णु बुढाथाेकी, खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।