Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेका झण्डै ४५ सय घरधुरीमा आ-आफ्नै धारा
एक खानेपानी योजना अन्तर्गतको धाराको पानी खोल्दै गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर ।

रुकुम पूर्वको भूमे गाउँपालिकाका झण्डै ४५ सय घरमा घरघरै खानेपानीको धारा पुगेका छन् । गाउँपालिकाका ९ वटै वडाका ४ हजार ४ सय ५९ उपभोक्ताको घरघरमा खानेपानीको धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएदेखि हालसम्म भएका कार्यसम्पादन सार्वजनिक कार्यक्रममा गाउँपालिकाले पालिकाका ४ हजार ४ सय ५९ घरधुरीमा खानेपानीका धारा पुगेको जनाएको हो ।

कार्य सम्पादन तथा प्रगति विवरणको प्रस्तुती गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले २ सय २० घरधुरीमा धारा जडान हुने क्रममा रहेको जानकारी गराउनुभयो । ५१ वटा खानेपानीका योजना/आयोजना निर्माण भइसकेको भन्दै अधिकृत श्रेष्ठले १० वटा योजना/आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो ।

सर्वसाधारणको आधारभुत आवश्यक्ता खानेपानी आपूर्तिलाई प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले नीतिगत रुपमा निर्णय गरी, ऐन, नियम, कानून निर्माण गरेर खानेपानी निर्माणमा लागिएको बताउनुभयो ।

गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि वास योजना निर्माण गरिएको, खानेपानी तथा सरसफाई रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा लगिएको अध्यक्ष बुढाले बताउनुभयो । यी नै योजना तथा नियमका आधारमा खानेपानी बनाउन सजिलो भइरहेको उहाँको भनाई छ ।

गाउँपालिको सबै उपभोक्ताले स्वच्छ खानेपानी पाउनुपर्छ भन्ने उद्देश्यले हरेक मुहानको पानीको शुद्धता परीक्षण गरिरहेको उहाँले बताउनुभयो । हालसम्मको विवरण अनुसार घरघरै धारा र सामुदायिक धारा गरी ९६ दशमलव ३५ प्रतिशत घरधुरीमा खानेपानीको सहज पहुँच पुगेको र बाँकी घरमा पनि पुर्याउन पहल भइरहेको अध्यक्ष बुढाले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update