Kakhara सबैको खबर सम्पूर्ण खबर
सत्ता गठबन्धन संयन्त्रले रुकुम पश्चिममा दलगत मतभार सहितको प्रतिवेदन केन्द्रमा पठायो 
आईतबार बसेको सत्ता गठबन्धन संयन्त्रको दोस्रो बैठक ।

रुकुम पश्चिमस्थित सत्ता गठबन्धन संयन्त्रको तेस्रो बैठक मुसीकोट खलंगामा बसेको छ । आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुको अवस्थाको विश्लेशन सहितको प्रतिवेदन केन्द्र पठाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा बसेको बैठकले सत्ता गठबन्धनमा रहेका कुन दलको अवस्था जिल्लामा कस्तो छ भन्ने अवस्थाको विश्लेशन सहितको प्रतिवेदन केन्द्रमा पठाउन गरेको निर्णय अनुसार आजै उक्त प्रतिवेदन केन्द्रमा पठाईएको हो । यो प्रतिवेदनमा स्थानीय तहको निर्वाचन २०७४ को दलगत मतभार र हालको मतभारलाई विश्लेसन गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका विज्ञानले जानकारी दिनुभयो । जिल्लामा मतभारका आधारमा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो शक्तिका रुपमा प्रतिवेदनमा उल्लेख गरी पठाइएकाे बताईएको छ ।

मतभार सहितको प्रतिवेदनको मस्यौदा तयार गर्न माओवादी केन्द्रका गोविन्द रोका, नेपाली काँग्रेसका यज्ञ विष्ट, एकीकृत समाजवादीका हरिप्रसाद शर्मा र जसपा नेपालका अमर ओलीलाई जिम्मा दिइएको थियो । आजको बैठकले उक्त प्रतिवेदन माथि छलफल गरी अन्तिम रुप दिएर केन्द्रमा पठाएको रोकाले बताउनुभयो । सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको चैत्र १७ गते बसेको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा पार्टी प्रमुखहरु रहेको गठबन्धन संयन्त्र बनाउने निर्णय गरे अनुसार रुकुम पश्चिममा आजको सहित तीन वटा बैठक बसेका हुन् । जिल्लामा पालिकास्तरका संयन्त्रका बैठकहरु पनि बस्ने बताईएको छ । यो गठबन्धनलाई प्रदेश र संघीय निर्वाचनसम्म कायम राख्ने उद्देश्य सत्तासीन दलहरुले लिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update