दुध उत्पादनलाई बढाउँन मुसीकोट नगरपालिकाले यो वर्ष पनि दुधमा अनुदान दिने भएको छ । वितेको आर्थिक वर्ष २०७६/०७७ देखि दुध विक्रि गर्ने कृषकलाई प्रोत्साहन गरी दुध उत्पादन बढाउने उद्देश्यले दुधमा अनुदान दिन सुरु गरेको नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गतवर्षको कार्यक्रम प्रभावकारी भएको भन्दै नगरपालिकाले यो वर्ष पनि दुधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिईएको जनाएको छ । व्यक्तिगत तथा सामुहिक रुपमा दुध उत्पादनमा लागेका कृषकलाई लक्षित गरेर ल्याईएको यो कार्यक्रम राम्रो भएकाले निरन्तरता दिईएको नगर प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दुधमा अनुदान दिने कार्यक्रम समेटिएको छ ।
गत वर्ष १८ कृषकले पाए अनुदान
नगरपालिकाले गत वर्ष दुधमा प्रतिलिटर ३ रुपैंया अनुदान दिएको थियो । अनुदान दिन नगरपालिकाले १ लाख ६० हजार बजेट विनियोजन गरेकामा १ लाख १५ हजार खर्च भएको थियो । नगर पुश सेवा शाखा प्रमुख सरस्वति सापकोटाका अनुसार गत वर्ष १८ जना दुध उत्पादक कृषकहरुले अनुदान प्राप्त गरेका थिए ।
अनुदान पाउनका लागि कम्तिमा ५ सय लिटर दुध उत्पादन गरेको हुनुपर्ने प्रावधान अनुसार व्यक्तिगत रुपमा दुध उत्पादन गरिरहेका १८ कृषकले कम्तिमा १ हजार ५ सय देखि बढीमा २४ हजार ६ सयसम्म अनुदान पाएको सापकोटाको भनाई छ । अनुदानका लागि वर्षभरीमा कम्तिमा ५ सय लिटर दुध उत्पादनका साथै नगरमा सुचिकृत डेरीमा दुध बिक्रि गरेको हुनुपर्ने नियम तोकिएको थियो ।
यो वर्षको कार्यविधि बन्दै
चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने भएपनि गत वर्षकै अनुसार संचालन गर्ने कि नयाँ विधिबाट संचालन गर्ने भन्ने बारेमा एकिन भैसकेको छैन् । यो वर्र्षका लागि नगरपालिकाबाट भैंसि प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार बिनियोजन भएको छ भने संघीय सरकारबाट पनि यो शिर्षकमा यतिनै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ ।
दुधमा अनुदान कार्यक्रम यसै शिर्षकको बजेटबाट संचालन हुने र बजेट ब्रेक डाउन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताउनुभयो । नगरपालिकाले दुधमा अनुुदान दिने कार्यक्रम ल्याएपछि हौषला मिलेको नगरका कृषकहरुको भनाई छ । अनुदानका लागि पनि दुध उत्पादन बढाउन कृषकहरु लागि परेको र यसले कृषकको आयस्रोतमा बृद्धि भैरहेको पाईएको नगरपालिकाले जनाएको छ ।