माघी पर्वको अवसरमा कोलमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता विष्णु रेउले र गोपाल कठायतको जोडीले जितेको छ । प्रशान्त महतरा र चेतन पुनको जोडीलाई २–०, को सोझो सेटमा हराउँदै रेउले र कठायतको जोडी पहिलो बनेको हो । पहिलो बनेको जोडीले नगद २१ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्दा दोस्रो भएको जोडीले नगद ११ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।
१८ जोडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा छवी घर्ती र नवराज शाहको जोडी तेस्रो बन्दा जिल्ला प्रहरी कार्यालयका विष्णु केसी र रामकुमार चौधरीको जोडी सान्त्वना बनेको छ । तेस्रो भएको जोडीले ६ हजार नगद र प्रमाण पत्र पाउँदा सान्त्वना बनेको जोडीले नगद ३ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ । विजेता जोडीलाई १२ नम्बर वडाध्यक्ष गंगाबहादुर पुनले नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १२, कोलमा केआरसी कोलले माघी पर्व २०७७ को अवसरमा ब्याडमिन्टन प्रतियोगिता गरेको थियो । माघी मनाउने, रमाइलो गर्ने र ब्याडमिन्टन खेलाडीको जमघट गरी अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केआरसी कोलका अध्यक्ष जलन पुनले बताउनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना आउने जोडी तथा सहभागि अन्य खेलाडीलाई मगर समुदायको चलन अनुसार पगरी गुथाएर सम्मान पनि गरिएको थियो ।