रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित सुआहारा कार्यक्रमले कोरोना विरुद्धको खोप सम्वन्धि बिभिन्न अभियान थालेको छ । उक्त परियोजनाले रुकुम पश्चिम र पूर्वका विभिन्न ठाउँमा पुगेर खोप लगाएको र नलगाएको अवस्थाको विषयमा जानकारी लिनुका साथै खोप लगाउन अनुरोध गरेको हो । जिल्लाको आठबीसकोट नगरपालिकामा खोप सचेतना सम्वन्धि अभियान थालेको सुआहाराले रुकुम पूर्व र पश्चिमका बिभिन्न पालिकामा पनि कोरोना विरुद्धको खोप लगाउन प्रचारात्मक अभियान थालेको हो ।
१७ गते रुकुम पश्चिमको मुसीकोट नगरपालिकाबाट सुरु भएको प्रचारात्मक कार्यक्रम रुकुम पूर्वको पुथाउत्तरगंगामा पुगेर सकिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा बिभिन्न सचेतना मुलक जिङ्गल बजाउदै खोप लगाउन अनुरोध गरिएको सुआहाराका डिईओएफ मनोज बुढाथोकीले जानकारी दिनुभयो । अभियानको क्रममा गाउँ–गाउँमा पुग्दा अझै पनि केहि व्यक्तिले कोरना विरुद्धको खोप नलगाएको पाईएको उहाँले बताउनुभयो । त्यस्तै पहिलो मात्रा खोप लगाएकाले एक वर्ष विति सक्दा समेत दोस्रो मात्रा नलगाएको पाईएको छ ।
उनीहरुलाई नजिकको खोप केन्द्र तथा जिल्ला अस्पतालमा गएर खोप लगाउन अनुरोध गरिएको बुढाथोकीले बताउनुभयाे । उहाँका अनुसार अझै पनि गाउँमा रहेका मानिसलाई खोपको बारेमा जानकारी दिनुपर्ने देखिएको छ । सुआहारा परियोजनाले जिल्लाका बिभिन्न ठाउँमा कोरोना विरुद्धको खोप अभियानको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ । यो भन्दा पहिला आठबीसकोटका विभिन्न वडामा पुगेर खोप अभियान कार्यक्रमहरु गरिएको थियो ।