रुकुम पूर्वको भूमे गाउँपालिकाले पालिकाका सबै मुख्य टोल सडक सञ्जालमा जोडिएका छन् । गाउँपालिकाका अनुसार ९ वडाका मुख्य सबै टोलमा सडक पुगेको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि थालिएको सडक निर्माण कार्य लगभग अन्तिम चरणमा परेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरका अनुसार गाउँपालिकामा ९९ दशमलव ८ किलोमिटर सडक निर्माण भएको छ ।
यसमा १४ किलोमिटर ग्राभेल गरिएको छ । गाउँपालिकाको क्षेत्रभित्रका २३ किलोमिटर सडक कालोपत्रे भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आउनुपूर्व कच्चि रहेको मध्यपहाडी लोकमार्ग कालोपत्रे भइसकेको छ । संघीय सरकारको बजेट र कार्यक्रम भएपनि कार्यान्वनको सन्दर्भमा गाउँपालिकाले सहजिकरण गरेको अध्यक्ष बुढाले बताउनुभयो । अध्यक्ष बुढाका अनुसार गाउँपालिकामा चक्रपथिय सडक निर्माण भएको छ ।
त्यो सडकले मध्यपहाडी लोकमार्ग र सहिदमार्ग जोडेको छ । गाउँपालिकाको दवाङ र रुजिखोला हुँदै लुकुम जोड्ने बाहेक सबैमा सडक पुगेको छ । यी दुई ठाउँमा पनि सडक निर्माण सुरु भइसकेको छ । अबका दिनमा सडकको ट्रयाक खोल्ने काम भन्दा अब स्तरोन्नतीको कामलाई बढी प्राथमिकता दिइने अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकाले निर्माण भएका सबै सडकलाई मुख्य सडक, लिंक सडक, र रिङ रोडको अवधारणमा विकास गरिएको जनाएको छ । सडक मर्मत सम्भारको व्यवस्था गाउँपालिकाले गरेर सञ्चालन गरिरहेको छ ।
२७ झोलुङ्गे पुल
यही अवधिमा भूमे गाउँपालिकाले २७ झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ । विभिन्न खोलामाथी यी निर्माण भएका छन् । प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठका अनुसार २७ वटा झोलुङ्गे पुल, ६ वटा पक्कि पुल तथा कल्भर्ट निर्माण भएका छन् । अब २ वटा पक्कि पुल निर्माणको चरणमा छ भने ५ वटा झोलुङ्गे पुल निर्माणको चरणमा छन् ।