नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उप महासचिव डाक्टर विजय पौडेलले प्रतिक्रियावादी शक्तिहरुले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीलाई समाप्त पार्न खोजेकाले त्यसलाई बचाउनका लागि आफुहरुले विद्रोह गरेको बताउनु भएको छ । आज मुसिकोटमा समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप महासचिव पौडेलले यस्तो बताउनुभएको हो ।
अहिलेको देशको समस्या भनेको दलाल पुजिँवाद रहेको र केही व्यक्तिहरु कम्युनिष्ट पार्टीको नाम राखेर दलाल पुजिवादको बाटोमा हिँडेको समेत आरोप पौडेलले लगाउनुभयो । उप महासचिव पौडेलले फेरी पनि प्रतिगमनको खतरा देखिएको र संविधान र व्यवस्था जोगाउनका लागि आफुहरुले गठबन्धन गरेको बताउनुभयो । आफुहरु ठुलो पार्टी नभए पनि देशको निर्णायक शक्तिको रुपमा रहेको जिकिर पौडेलको छ । ठिक समयमा ठिक एजेण्डा उठाउँदा पार्टी बन्ने र आफुहरु त्यो बाटोमा भनाई उप महासचिव पौडेलको छ ।
सत्ता स्वार्थको लागि तपाईहरुको एकता हो ? भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै उप महासचिव पौडेलले आफूूहरु कुनै स्वार्थमा नभई संविधान र व्यवस्था बचाउनको लागि तालमेल गरेको र आफुहरु बृहत्तर कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभयो । आगामी स्थानीय तहको निवार्चनमा एमालेले जितेको ठाँउहरुमा आफ्नो पार्टीको स्वभाविक दावी रहने पौडेलको भनाई छ । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुनले पत्रकार सम्मेलनको सहजिकरण गर्नुभएको थियो ।