रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना हुने भएका छन् । २०७८ चैत्र १७ गतेको मन्त्री परिषद्को बैठकको निर्णय अनुसार आठबीसकोटमा नापी र मालपोत कार्यालय राख्न लागिएको हो । भूमी, व्यवस्था तथा गरीबी निवारण मन्त्रालयले पछिल्लो पटक एउटा चिठी लेखेर उक्त निर्णय कार्यान्वयन गराउन भनेको छ । शाखा अधिकृत अर्जुन पौडेलले चिठी लेखेर दरबन्दी तेरिज र संगठन संरचना कार्यान्वयन गर्न गराउन भन्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम, मालपोत र नापी कार्यालयलाई बोधार्थ लेखिएको चिठीमा कार्यालय स्थापना गर्न र कार्यान्वयनमा लैजान भनिएको छ । आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले आठबीसकोटमा मालपोत र नापी कार्यालय स्थापनाको तयारी भइरहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले आवश्यक समन्वय, व्यवस्थापन र सहयोग गर्ने नगरप्रमुख केसीले बताउनुभयो ।