Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा आयोजित भलिबलमा पुरुष तर्फ निसीखोला र महिला तर्फ चुनवाङ प्रथम

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा आयोजित भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्दले आयोजना गरेको खुला शुद्ध वडा स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो । रुकुम पूर्व पश्चिम, रोल्पा र बाग्लुङ जिल्लाका गरी २३ टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगितामा निसीखोला गाउँपालिका वडा नम्बर ३ बाग्लुङ प्रथम भएको छ ।

आज भएको फाइनलमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ लाई ३-० को सेटमा पराजित गर्दै निसीखोला प्रथम भएको हो । प्रथम हुने निसीखोला गाउँपालिका ३ ले नगद एक लाख, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा चित्त बुझाएकाे बाँफिकोट ३ ले नगद ६० हजारको साथमा कप, मेडल र प्रमाणपत्र हात पार्दा रूकुम पूर्वकाे सिस्ने गाउँपालिका वडा नम्बर ६ ले तेस्रो हुदै नगद ४० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

रूकुम पूर्वकै भूमे गाउँपालिका वडा नम्बर ४ ले सान्त्वना हुदै नगद २० हजार र प्रमाणपत्र पाएको छ । ७ टिमले प्रतिस्पर्धा गरेको महिला भलिबल प्रतियोगितामा भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ प्रथम भएको छ । आज भएको फाइनलमा भूमे गाउँपालिका वडा नम्बर १ लुकुमलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै भूमे ९ प्रथम भएको हो । यस्तै ब्राहा युवा क्लब भूमे गाउँपालिका वडा नम्बर १ दोस्रो भएको छ। साेही वडाको धुपी सल्ला युवा क्लब तेस्रो भएकाे कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रका सचिव देबबहादुर हमालले जानकारी दिनुभयो ।

महिला भलिबलकाे प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ५१, ३१, र २१ हजार रुपैया, कप मेडल र प्रमाणपत्र हात पारेकाे उहाँले बताउनुभयाे । सान्त्वना स्थानमा चित्त बुझाएको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नगद ११ हजार र प्रमाण पत्र प्राप्त गरेकाे आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा पुरूष तर्फ बाँफिकोट गाउँपालिका ३ का नन्दु पुरी र महिला तर्फ भूमे १ लुकुमकी अस्मिता पुन उत्कृष्ट खेलाडि घाेषित हुनुभएकाे छ । यसका साथै पुरूष तर्फ निसीखोलाका आशिष चन्द र महिला तर्फ भूमे गाउँपालिका वडा नम्बर ९ की संगिता रोका बेष्ट स्पाइकर तथा सिस्ने ६ का तुल शाही ठकुरी बेस्ट ब्लकरका रूपमा छनाैट हुनुभयाे । 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update