Kakhara सबैको खबर सम्पूर्ण खबर
४२ कृषि फर्म तथा किसानलाई कृषि औजार

रुकुम पश्चिमका ४२ कृषि फर्म तथा किसानले कृषि औजार प्राप्त गरेका छन् । कृषि विकास कार्यालयले अनुदान वापत जिल्लाका किसानलाई विभिन्न खालका कृषि औजार प्रदान गरेको हो । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा कृषि औजार प्रदान गरिएको हो ।

चालु आर्थिक वर्षको बजेटबाट कृषि औजार प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले २२ जनालाई मिनिटेलर, ५ जनालाई च्यापकटर, ५ किसानलाई थ्रेसर, ३ जना किसानलाई पंखा प्रदान गरिएको जानकारी दिनुभयो । निमित्त प्रमुख केसीका अनुसार फ्रुट स्प्रेयर, स्प्रेयर, बेसार काट्ने मेशिन, कर्णसेलर लगायतका औजार पनि किसानलाई प्रदान गरिएको छ ।

किसानको माग अनुसार नै यी औजार प्रदान गरिएको हो । कृषिमा यान्त्रिकरण गर्ने, व्यवसायिकता बढाउने र कृषि क्षेत्रमा युवा आकर्षण गर्ने उद्देश्यले यी औजार प्रदान गरिएको निमित्त केसीले बताउनुभयो । चालु आर्थिक वर्षमा १५ लाख रुपैया“ औजारमा अनुदान प्रदान गर्ने गरी विनियोजन भएको थियो ।

त्यसमा किसानले १५ लाख रुपैयाँ लगानी गर्नुपर्ने कार्यविधि बनेको छ । पहिलो पटक टेन्डर आह्वान गर्दा १० लाखमा काम सम्पन्न भएकाले बचेको ५ लाखको पनि थप सामग्री खरिद गर्ने योजना रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

मुसीकोट नगरपालिका ८, कि नन्दकुमारी गिरीले आफ्नो माग अनुसार मिनिटेलर प्राप्त गरेको र अब यसबाट खेतीलाई थप व्यवसायिक बनाउने उद्देश्य रहेो बताउनुभयो । परम्परागत खेती प्रणालीबाट व्यवसायिक खेतीपाति नहुने भन्दै उहाँले अब व्यवसायिक बन्नका लागि कृषि औजारको सहायता अनिवार्य भएकाले यसतर्फ लागेको बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update