रुकुम पश्चिममा कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश/दश बर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोही अनुसार यो वर्ष देशभरमा कृषि गणना हुन लागेको हो । जसअन्तरगत जिल्लामा गणनामा खटाइने सुपरिवेक्षक र गणकहरु छनोट भईसकेका छन । अव उनिहरुलाई तालिम दिईदै छ । उनिहरुका लागि चैत्र २६ गते बाट बैशाख ३ गते तालिम संचालन गरिने जिल्ला कृषि गणना अधिकृत ठाकुरप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
जिल्लाभरमा ३५ जना गणक र ९ जना सुपरिवेक्षक खटिने उहाँले बताउनुभयो । उहाँका अनुसार कृषि गणनाको लागि जिल्लामा ९३ वटा गणना क्षेत्र तोकिएको छ । जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले आज मुसीकोटमा सचेतना गोष्ठी आयोजना गरेर कृषि गणनाको तयारीको बारेमा जानकारी गराएको हो । कृषि गणना बैशाख ६ देखी जेठ १९ गते सम्म हुने छ । ४५ दिनमा दुई चरणमा गणना हुने छ । पहिलो चरणमा सुचिकरण हुने छ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।
कृषि गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताहरुको विवरण, सिंचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफुल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीहरुको उत्पादन, वीउ विजन, वषादी र मलखादको प्रयोग लगायतको विवरण संकलन हुने छ ।
त्यस्तै जात अनुसार पाल्तु पशुपंक्षीको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछा पालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रयाप्ताका बारेमा पनि जानकारी संकलन हने छ ।