Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई निजी कलेजमाथी छानविन सुरु
टिएिनटी कलेजमा तालाबन्दी गर्दै आन्दोलनरत विद्यार्थी ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेका दुई वटा निजि कलेजमाथी छानविन थालिएको छ । टिएनटी टेक्निकल कलेज र स्यार्पूताल इन्जिनियरिङ कलेजमाथी जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको हो । विद्यार्थीहरुले आफूहरुलाई ठगि गरेको भन्दै प्रशासनका उजुरी गरेपछि प्रशासनले आश्यक छानविन प्रक्रिया अघि बढाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा छानविन कार्यदल बनाइएको छ ।

यि कलेजले आफूहरुलाई झुक्क्याएर अनावश्यक पैसा लिएको विद्यार्थीहरुले बताएका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त कलेज भएको, टिएसएलसी तथा डिप्लोमा कोर्ष पढाउने भन्दै पैसा लिएको र अन्तमा अर्कै कोष पढाई रहेको खुलेको विद्यार्थीरुले बताएका छन् । आफूहरुबाट महंगो शुल्क लिएर भनेको भन्दा अर्कै कोर्ष पढाइरहेको खुलेपछि विद्यार्थी आन्दोलनमा आएका छन् । सोमबार विद्यार्थीले सदरमुकाम खलंगामा नाराजुलुस समेत गरेका छन् ।

उनिहरुले जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिकाको ध्यानाकर्षण पनि गरेका छन् । आफूहरुले दोब्बर पैसा फिर्ता पाउनुपर्ने र कलेजलाई कानूनी कारबाही हुनुपर्ने माग विद्यार्थीको छ । पीडित विद्यार्थीले देवबाबु देवकोटाको संयोजकत्वमा संघर्ष समिति समेत बनाएका छन् । देवकोटाले कलेजले फसाएको बताउनुभयो । लेभल १ को पठन पाठन गराएर आफूहरुबाट महंगो शुल्क लिएको उहाँले बताउनुभयो । कलेजले ३ हलारदेखि ६१ हजारसम्म शुल्क विद्यार्थीबाट उठाएका छन् ।

२ वर्षसम्म परीक्षा वा मूल्याङ्कन नगरिएपछि गलत भइरहेको जानकारी आफूहरुले पाएको देवकोटाले बताउनुभयो । आन्दोलनरत विद्यार्थीले सोमबार विहान टिएनटी टेक्निकल कलेजमा तालाबन्दी गरेका छन् भने स्यार्पूताल इन्जिनियरिङ कलेज यस अघि नै बन्द भइसकेको छ । माग सम्बोधनका लागि उजुरी मात्रै दिएका विद्यार्थीले कलेज विरुद्ध मुद्दा हाल्ने तयारी समेत गरेका छन् । कलेजहरुले भने यस विषयमा बाहिर भनिएजस्तो नभएको बताएका छन् ।

टिएनटी टेक्निकल कलेजका निर्देशक तिलक डाँगीले कुरा नबुझेर केही विद्यार्थी संगठनले विद्यार्थीलाई उचालेको बताउनुभयो । आफुहरुले टेलिकम टेक्निसियन, कम्प्युटर अपरेटर र विल्डिङ इलेक्ट्रिसियन पठन पाठनको अनुमति लिएर पढाइरहेको डाँगीको भनाई छ । आफूहरुले अरु कुरा नगरेर लेभल २ को कोर्ष पढाई रहेको र जानकारी पनि त्यसरी नगरेको दावी डाँगीले गर्नुभयो । ‘रेडियोदेखि पत्रपत्रिकासम्म पनि हामीले लेभल २ कै पढाई गर्ने भनेका हौं, पढाई पनि त्यही भइरहेको हो,’ डाँगीले भन्नुभयो । प्रशासनले छानविन गरिरहेकाले त्यसबाट सत्यतथ्य बाहिर आउने भनाई उहाँको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update