- कृष्णा खड्का
टाइफाइड (Enteric Fever)/म्यादे ज्वरो ज्यानै जोखिममा पर्न सक्ने संक्रामक रोग हो । यो रोग Salmonella Typhi र S. Paratyphi नामक ब्याक्टेरियाबाट हुन्छ । यो सुक्ष्म जीवाणु (ब्याक्टेरिया) संक्रमित व्यक्तिको दिसाको माध्यमबाट बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यम (Feaco-oral route) बाट सर्दछ । यो रोगको संक्रमण जुनसुकै उमेरका व्यक्तिहरूमा हुन सक्दछ तर १५ वर्ष मुनिका बालबालिकाहरूमा संक्रमण दर र रोगको जटिलता उच्च हुने देखिएको छ ।
विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य संक्रामक रोगहरू मध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरू मध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ । (HMIS Data Nepal) नेपालमा गरिएको एक अध्ययन (पाटन एकेडेमी फर हेल्थ साइन्समा गरिएको अध्ययन) बाट प्रति १ लाख जनसंख्यामा लगभग १ हजार ६२ जनामा टाइफाइड रोग संक्रमण भएको देखिएको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाखमा लगभग १० हजार ९ सय ६० जनामा यो रोगको संक्रमण भएको देखिएको छ । विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार प्रति १ लाखमा १०० भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई यो रोगको उच्च दर मानिन्छ ।
मुख्य लक्षण तथा चिन्हहरूः
उच्च ज्वरो (High grade fever)
जाडो हुने, पसिना आउने
टाउको दुख्ने, जिउ दुख्ने
जिब्रोमा सेतो लेत लाग्नु (coated tongue)
अन्य देखिन सक्नेः
पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत देखिन सक्ने
शरीरमा हल्का रातो उठेको बिमिराहरू आउन सक्ने (Rose spots)
सुख्खा खोकी लाग्ने
भोक नलाग्ने
वाकवाकी लाग्ने
हुन सक्ने जटिलता
- सानो आन्द्रामा घाउ हुनु, रगत बग्नु र प्वाल पर्नु
- यसका साथै शरीरका विभिन्न भागमा संक्रमण फैलिन गई अन्य अंगका रोगहरू र त्यसका जटिलताहरू देखिन सक्छ (bacteremia /septicemia/multiple organ failure)
- त्यसै गरी मस्तिष्क सम्बन्धि जटिलताहरू जस्तै meningitis, Guillain-Barre Syndrome, neuritis, neuropsychiatric symptoms (muttering delirium or coma) आदि जस्ता जटिल रोगहरू देखिन सक्छ ।
रोगको पहिचान
लक्षण तथा चिन्हको आधारमा यस रोगको प्रारम्भिक पहिचान गर्नुको साथै प्रयोगशालामा रगतको
जाँच (Blood culture) गरेर यो रोगको पहिचान गर्न सकिन्छ ।
रोगको उपचार र रोकथामको उपाय
- रोग लागेमा समयमै स्वास्थ्य केन्द्रमा गई उपयुक्त प्रतिजैविक औषधिबाट रोगको उपचार गर्ने ।
- यो रोग बाट बच्न १५ महिनाको उमेरमा १ मात्रा खोप (Typhoid Conjugate Vaccine, TCV) लगाउने ।
- स्वास्थ्य सरसफाईमा ध्यान दिने ।
टाइफाइड रोगबाट बच्ने उपायहरूः
टाइफाइड एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको सेवन मार्फत सर्दछ । खोप लिए तापनि खोप लिएका तथा नलिएका व्यक्तिहरू यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु नै हो।
सरुवा रोगहरूबाट बच्न सरसफाईको निम्न कुराहरूमा ध्यान दिनु पर्दछः
- सधैँ सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा नै फाल्ने ।
- बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने ।
- राम्ररी पकाएको खाना मात्र खाने र खाने कुरालाई सधैँ छोपेर राख्ने ।
- बासी सडेगलेको र झिंगा भन्केको खाना कहिल्यै नखाने ।
- सधै सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्ने ।
- सरसफाईमा ध्यान दिनुको साथै १५ महिनाका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु हो ।
हाल नेपालमा प्रायेग गरिने Typhoid Conjugate Vaccine (TCV खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित (WHO prequalified) गरिएको र नेपालमा पनि औषधि व्यवस्थापन विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएको सुरक्षित र प्रभावकारी खोप हो । यो खोपको प्रभावकारिता ९६.९५% रहेको छ ।
चैत्र २५ गते देखि सुरु भएको खोप अभियानमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रुपमा एक मात्रा र नियमित खोप मार्फत १५ महिनामा बालबालिकाहरूलाई टाइफाइड विरुद्धको १ मात्रा खोप प्रदान गरी टाइफाइड रोग र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्नु यो खोप अभियानको लक्ष्य हो । १५ महिना देखि २३ महिना उमेर समूहलाई बाँया तिघ्राको मध्य बाहिरी भाग मासु भित्र र २ वर्ष देखि १५ वर्ष उमेर समूहलाई बाँया पाखुराको बीच बाहिरी भाग मासु भित्र खोप दिइन्छ । यो खोप लगाएपछि हल्का ज्वरो आउने, टाउको दुख्ने र खोप लगाएको ठाँउमा रातो हुने, दुख्ने र हात गोडा, जोर्नी दुख्ने जस्ता सामान्य असर देखिन सक्छ ।
लेखक स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिममा खाेप सुपरभाइजर अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।