रुकुम पश्चिमा पनि टाइफाइड विरुद्धको खोप लगाउन थालिएको छ । मुसीकोट नगरपालिका १, को त्रिभुवन जनता माध्यामिक विद्यालयमा खोप लगाउने कार्यको शुभारम्भ गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले यो अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको शुभारम्भ गर्दै प्रमुख शर्माले खोप लाउनबाट कोही पनि बालबालिका बञ्चित नहुनेतर्फ ध्यान दिन सम्बन्धित सरोकारवालालाई आग्रह गर्नुभएको छ । यो अभियान बालबालिकाको स्वास्थ्यसँग जोडिएको भन्दै शर्माले यसलाई सफल बनाउन सबैको दायित्व हुने बताउनुभयो । सरकारको अभियान सफल बनाउने, नागरिकलाई स्वस्थ राख्ने अभियानमा सबैको हातेमालो, एक्यबद्धता र सहयोगको खाँचो औल्याउनुभयो ।
त्रिभुवन जनता माविबाट सुरु भएको यो अभियान अरु दिनमा अरु ठाउँमा चल्ने छ । जिल्लाका अन्य स्थानीय तहले पनि अभियान सुरु गरेका छन् । आजबाट सुरु भएको यो अभियान वैशाख २ गते सम्म चल्ने बताइएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप लगाउन थालिएको छ ।
रुकुम पश्चिममा ३ सय ७५ वटा खोप केन्द्रबाट खोप दिन थालिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताउनुभयो । अभियानमा ४ सय ८२ स्वास्थकर्मी खटिएका छन् । रुकुम पश्चिममा टाईफाईड विरुद्धको खोप लगाउने बालबालिकाको संख्या ४५ हजार ८ सय ७५ रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । १५ वर्ष मुनिका बालबालिकालाई ११ गुणा बढी संक्रमण हुने हुँदा टाइफाइड विरुद्धको खोप नछुटाई लगाउन थालिएको बताइएको छ ।