रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरमा विभिन्न उद्योग स्थापना गरेको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भयएता हालसम्म नगरपालिकाले उद्योग तथा वाणिज्य क्षेत्रमा लगानी गरेको जनाएको छ । नगरपालिकाले ११ नम्बर वडाको चौफा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरेर विभिन्न उद्योग स्थापना गरेको हो ।
चौफामा नगरपालिकाले दाना उद्योग, कापी उत्पादन उद्योग, गार्मेन्ट उद्योग, जुस उद्योग, टिस्यु कल्चर पनि स्थापना गरेको छ । नगरपालिकाले लघु उद्यम कार्यक्रम अन्तरगत कापी बनाउने, गार्मेन्ट र सिलाईकटाई सम्बन्धी नगरपालिकाले सीप विकास तालिम पनि सन्चालन गरिसकेको जनाएको छ ।
बाँस निगालोजन्य उद्योग सन्चालन तथा हाते होजेरी सम्बन्धी सीप विकास तालिम पनि सन्चालन गरिरहेको नगरप्रमुख विशाल शर्माले जानकारी दिनुभयो । नगरपालिकाले वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माण गर्नको लागि प्रक्रिया अघि बढाइसकेको नगर प्रमुख शर्माले बताउनुभयो ।
कोल्ड स्टोर निर्माण भएपछि किसानले उत्पादन गरेका फलफूलहरु खेर नजाने, भण्डारण गरेर राख्न सजिलो हुने नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकाले नगरवासिको सहजताको लागि २र ११ नम्बर वडामा सुपथ मूल्यका पसल पनि सन्चालनमा ल्याएको छ ।
आर्थिक विकास शाखाले सहकारी वित्तिय व्यवस्थापनका लागि लेखा व्यवस्थापन तथा कोपोमिस तालिमको पनि व्यवस्था गरेको छ । नगरपालिकाले वडा स्तमा गठित श्रमिक सहकारी मार्फत पूर्वाधार निर्माण कार्यक्रम पनि सन्चाल गरेको छ । नगरपालिकाले नियमन गर्ने क्षेत्रभित्रका सम्पूर्ण सहकारीलाई डिजिटलाईजेशन गर्ने कार्य पनि सुरु गरिसकेको आर्थिक विकास शाखा चौरजहारीले जनाएको छ ।