Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालको अर्थतन्त्रको बारेमा बोल्नुभन्दा पहिले बुझ्नुपर्ने केही तथ्यहरू

रामबहादुर केसी

काेभिड-१९ महामारी तथा रूस-युक्रेन युद्धको कारण विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या/संकट आएको हो । मुद्रास्फिति, शोधानान्तर बचत, विदेशी मुद्रा संचिति, ब्याजदर लगायतका विषयहरु उदीयमान र विकासशील अर्थतन्त्रभन्दा विकसित अर्थतन्त्रमा बढी समस्याको रुपमा रहेका छन् । त्यसैले नेपाल टाट पल्टन थाल्यो, देश डुब्न थाल्यो, कोही माझी भए आउ, देश बचाउ भनेर गोही आंसु झार्नु भनेको अफवाह र भ्रम फैलाएर आर्थिक गतिविधीहरुलाई ठप्प बनाई बास्तविक रुपमा नै देशलाई कंगाल बनाउन खोजे सरह हो । यदि आत्मादेखि नै देशको चिन्ता हो भने देश आफैं बचाए हॅुदैन ? माझीले देश बचाउने ठेक्का लिएको छ र ?

हाल विश्वव्यापी रुपमा देखिन थालेको आर्थिक संकट/मन्दी/समस्या योभन्दा पहिले सन् १९३०, सन् २००८ लगायत विभिन्न समयमा योभन्दा व्यापक रुपमा विश्वव्यापी रुपमा र त्यसमा पनि अहिले विकसित अर्थतन्त्र भएका युरोप, अमेरिकी देशहरुमा नै देखिएको थियो । त्यसैले अर्थतन्त्र समस्यारहीत हॅुदैन । अर्थतन्त्रमा आउने यस्तै समस्याहरुको सामना गरेर मात्र दीगो र भरपर्दो अर्थतन्त्र निर्माण गर्न सकिन्छ । अहिले आउने मौद्रिक नीति, आर्थिक नीति, वित्त नीतिहरु सन् १९३० को आर्थिक संकट पश्चात् जे.एम. किन्सको अवधारणा अनुसार आउन थालेका हुन् ।

नेपालमा वि.स. २००८ सालदेखि बजेट पेश हुन थालेको हो । के तपाई हामीले वि.स. २००८ सालदेखि हालसम्मका अर्थमन्त्रीहरुको कामको वास्तविक रुपमा विश्लेषण गरेका छौं ? यदि छौं भने केही सस्तो लोकप्रियताका नाममा ल्याइएका र हालका दिनमा अर्थतन्त्रले धान्न मुस्किल भईरहेका सामाजिक सुरक्षा लगायतका कार्यक्रम बाहेक दीगो आर्थिक विकास हुने किसिमले कोही अर्थमन्त्रीले बजेट तथा कार्यक्रम ल्याए ? ल्याएको भए देश अहिले पनि किन अविकसित अवस्थामा छ ? जनताका वास्तविक समस्या र जीवनस्तर किन अहिले पनि उस्तै छ ? कुनै अर्थमन्त्रीका पालामा पॅूजीगत खर्च शतप्रतिशत भयो भन्ने तथ्यांक छ ? औषतमा पॅूजीगत खर्च ६०-७०% को हाराहारीमा होइन ? आ.व. २०७६/०७७ मा त पॅूजीगत खर्च ४६.३% मात्र भएको थियो । के पॅूजीगत खर्च अर्थ मन्त्रालयले गर्ने हो ? चालू खर्च करिब शतप्रतिशत गर्न सक्ने सार्वजनिक निकायहरुलाई पॅूजीगत खर्च शतप्रतिशत गर्न कस्ले रोकेको छ ?

केही पूर्व अर्थमन्त्री तर अर्थतन्त्रको जीवन्तताको लागि सिन्कोसम्म नभॅाचेका विद्धान अर्थशास्त्रीहरुले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, यो भएन, त्यो भएन भनेर खुबै भाषण गरेको अर्ति उपदेश दिएको देखिन्छ ? अरुलाई अर्ति उपदेश दिनेहरुले आफूले चांहि के गरें भन्ने हेक्का राख्नु पर्दैन ?

अर्थतन्त्रकाे विज्ञताको कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयमा त स्थायी विद्धानहरु छन् नि होइन ? विषयवस्तुको सैद्धान्तिक विज्ञताले हुने भए खोइ त संकट मोचन भएको ? समस्या नै नआउनुपर्ने हो नि होइन ?

अहिलेकाे विश्वव्यापी आर्थिक संकटको बेलामा जतिसुकै अर्थतन्त्रको ज्ञाता हॅु भन्ने विद्धान अर्थमन्त्री भएमा पनि केही हुनेवाला छैन् । जब सबै चीजहरु आयात गर्नुपर्ने अवस्था छ हाम्रो, त्यसलाई पूर्ण रुपमा रोक्न सकिन्छ र ? के पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै ४०-५०% ले बढिरहेको छ, पहिले कै मूल्यमा दिन सकिन्छ र ? नेपाल आयल निगम, नेपाल वायु सेवा निगम लगायतका सार्वजनिक निकायमा हुने घाटा, अव्यवस्था, कुशासन अहिलेसम्म हटेको छ र ?

म त भन्छु यो देश अविकसित हुनुमा कुरा गरेर विश्लेषण गरेर कहिले पनि नथाक्ने तर सिन्कोसम्म नभॅाच्ने हाम्रा विद्धान अर्थशास्त्री, विद्धान कर्मचारी, विद्धान राजनीतिज्ञहरुको ठूलो हात छ । बिहानदेखि सॅाझसम्म श्रम गरेरपनि हातमुख जोड्न धौधौ हुने ६०% भन्दा बढि किसान, मजदूरहरुको हालतले सायत यहॅाहरुको विद्धतालाई गिज्याउॅदो हो ।

जनताकाे हालत सुधार गर्न किताबका पाना पल्टाएर यहॅानिर यस्तो लेखेको रहेछ, उस्तो लेखेको रहेछ भनेर हॅुदैन, जनताको समस्याको मर्म भावना बुझ्नुपर्छ । काठमाडौंका आलिसान महलमा बस्नेहरुलाई के थाहा हुम्ला, जुम्लाजस्ता ठाउॅमा बस्ने दु:खीजनहरुको अवस्था के होला भनेर ?

समस्या के हो ? थाहा छ । समस्याको कारण के हो ? त्यो नि थाहा छ । समाधान के हो ? त्यो पनि थाहा छ । तर अवस्था त उस्तै छ नि सबै थाहा भएर पनि, किन ? किनभने लेख्न, बोल्न, अरुलाई सुनाउन, अर्ति दिन सबै आउॅछ त उपचार गर्न आउॅदैन । उपचार गर्ने जॅागर नै छैन । खास समस्या त यही हो नि, होइन र ?

लेखक अर्थमन्त्रालयमा कार्यरत हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update