रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पछिल्लो समय सञ्चार क्षेत्रमा पनि उल्लेख्य काम भएको छ । विभिन्न ठाउँमा सञ्चारको सुविधा पुग्नुका साथै अरु क्षेत्रमा पनि काम भएको नगरपालिकाले जनाएको छ । नगरका धेरै ठाउँमा फोन सम्पर्क हुदैन थियो । तर पछिल्लो समय अधिकांश क्षेत्र सञ्चारको पहुँचमा पुगेका छन् ।
नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि प्राथमिकताका साथ सञ्चार क्षेत्रमा काम भएको नगरपालिकाले जनाएको छ । सञ्चार क्षेत्रमा नगरवासिलाई समस्या नहोस भनेर नगरका ३ ठाउँमा टेलिफोनको टावर सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ४ र ११ मा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ ।
तेस्तै वडा नम्बर १ मा एनसलको टावर निर्माण भएर सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माका अनुसार नगरपालिकाको ३ स्थानमा टावर निर्माण गरेपछि नगरपालिका भित्रका १४ वटै वडामा सञ्चारको सुविधा पुगेको छ ।
नगर भित्र सञ्चारको सुविधा जनताको दैनिकी सहज भएको उहाँको भनाई छ । सञ्चार क्षेत्र अन्तरगत नगरपालिकामा १४ वटा वडामा रहेका १५ वटा स्वास्थ संस्थामा इन्टरनेट जडान गरिएको छ । तेस्तै नगर भित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकलाई सहज होस र नयाँ प्रविधिको विकास होस भनेर ईन्टरनेट जडान गरेको नगर प्रमुख शर्माले बताउनुभयो ।
नगरपालिकामा प्रविधिको विकास भएसँगै अनलाइन पत्रिका मार्फत सूचना प्रकाशन तथा प्रसारण पनि भैरहेको नगर प्रमुख शर्माले बताउनुभयो । सूचना तथा सञ्चारका क्षेत्रमा अरु कामको सुरुवात भएको पनि नगरपालिकाले जनाएको छ ।