रुकुम पश्चिममा भूमिहीन दलित र भूमिहीन सकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको लगत संकलन सुरु भएको छ । पहिलो चरणमा मुसीकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणि गाउँपालिका गरी तीन स्थानीय तहका भूमिहीनहरुको लगत संकलन हुन लागेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लाका तीन स्थानीय तहहरुसंग लगत संकलनका लागि सम्झौता गरेको छ । त्यसअनुसार स्थानीय तहहरुले लगत संकलनको काम सुरु गरेका हुन् । यसका लागि स्थानीय तहमा लगत संकलन इकाई स्थापना गरिएको छ । कर्मचारीहरुको व्यवस्थापन पनि स्थानीय तहले नै गरेका छन् ।
लगत संकलनका लागि आयोगबाट आएको अनुसुचि वडा वडामा पठाईएको र त्यो भरेर पठाउन भनिएको त्रिवेणि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । सबै वडाहरुलाई आफ्नो वडाभित्र भूमिहीन र अव्यवस्थित वसोवासीहरुको अवस्था पत्ता लगाएर गाउँपालिकामा सिफारिस गरेर पठाउन वडा कार्यालयहरुलाई निर्देशन गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पछिल्लो पटक एक हप्ता भित्र सिफारिस गरी पठाउन भनिएको छ । वडाबाट सिफारिस भएका आएका लगत माथि कार्यपालिकामा गम्भिर छलफल हुने उहाँले बताउनुभयो ।
मुसीकोट नगरपालिकाले पनि लगत संकलन इकाई स्थापना गरी लगत संकलनको काम सुरु गरेको जनाएको छ । वडा वडामा अनुसुचि पठाईएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले बताउनुभयो । अहिले सामान्य रुपमा लगत संकलनको काम भइरहेको र आयोगबाट थप कागजपत्र आएपछि विस्तृतमा लगत संकलनको काम हुने उहाँले बताउनुभयो । वडाबाट सिफारिस भएर आएका लगत माथि विस्तृतमा अध्यन हुने र वास्तविक भूमिहीन दलित तथा भूमिहीन सकुम्वासी र अव्यवस्थित वसोवासीहरुको लगत आयोगमा सिफारिस गरिने खड्काले स्पस्ट पार्नुभयो ।
वास्तविक भूमिहीनहरुको लगत संकलनका लागि आयोगले स्थानीय तहहरुसंग मिलेर काम गरिरहेको छ । भूमिहीनहरुका लागि आयोगले जग्गाको व्यवस्था गर्ने छ । भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने गरी सरकारले गठन गरेको अधिकार सम्पन्न आयोगले पहिलो चरणमा जिल्लाका तीन पालिका सहित देशभरका कुल ७ सय ५३ मध्ये १ सय ९२ वटा पालिकासंग सम्झौता गरेको छ ।