रुकुम पुर्वको भुमे गाउँपालिकामा थप चार वटा जलविद्युत आयोजना निर्माण भएका छन । यस अघि गाउँपालिकामा ८ वटा जलविद्युत आयोजना सम्पन्न भएकोमा पछिल्लो ५ वर्षको अवधिमा थप चार वटा जलविद्युत योजना निर्माण सम्पन्न भएका हुन् ।
यी ४ सहित अब गाउँपालिकामा १२ वटा जलविद्युत आयोजना सम्पन्न भएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । अध्यक्ष बुढाका अनुसार ८ वटा जलविद्युत आयोजना बाट २ सय २ किलो वाट क्षमताको विद्युत उत्पादन हुन्थ्यो । थप ४ वटा आयोजना बनेपछि भने ३ सय ९३ किलोवाट क्षमता विद्युत उत्पादन भइरहेको छ ।
भूमेवासीहरुले स्थानीय लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट नै सेवा लिइरहेका छन । गाउँपालिकामा जनप्रतिनिधि आउनुपूर्व ८ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले २ हजार ३ सय ५७ घरधुरीमा उज्यालो दिएको थियो । थप चार वटा जलविद्युत आयोजनाबाट गाउँपालिकाका ३ हजार १ सय ८५ उपभोक्ता लाभान्वित भएका छन् ।
गाउँपालिकाले गाउँपालिकामा सौर्य उर्जा मार्फत उज्यालो लिनेहरुको संख्या पनि सार्वजनिक गरेको छ । पछिल्लो समय १ हजार ४ सय ९२ घरधुरीमा सौर्य उर्जा जडान गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्म यो संख्या ७ सय १२ मात्रै थियो । गाउँपालिकाका अनुसार सोलार जडान गरेका कतिपयका घरमा विद्युत पनि जडान भएको छ ।