रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १०, बैराबाङमा ड्रागन फ्रुटको व्यवसायिक खेती सुरु गरिएको छ । स्थानीय युवा व्यवसायिकले व्यवसायिक रुपमा ड्रागन खेती थालेका हुन् । हरिबहादुर डाँगी, विरबहादुर खड्का, दिपक खड्का र भिमबहादुर डाँगीले व्यवसायिक रुपमा ड्रागन खेती थालेका हुन् ।
गहुँ, मकैको साथै अरु विभिन्न तरकारी बाली उत्पादन हुने जग्गामा उनिहरुले ड्रागन खेती थालेका हुन् । उनिहरुले आआफ्नै जग्गामा १ हजार ५ सय ४९ विरुवा लगाएका छन् । उनिहरुको १५ रोपनी जग्गा ड्रागन खेती फस्टाइरहेको छ ।
हालसम्म २४ लाख बढी रुपैयाँ खर्च भइसकेको हरिबहादुर डाँगीले बताउनुभयो । आफूहरुको व्यक्तिगत लगानी र प्रदेश सरकार पूर्वाधार विकास कार्यालय चौरजहारीको अनुदानमा खेती सुरु गरिएको डाँगीले बताउनुभयो । कुल लगानीमा १२ लाख ५० हजार रुपैया अनुदान वापत पाइएको डाँगीको भनाई छ ।
पहिलो पटक परीक्षण स्वरुप धेरै जग्गामा लगाइएकाले जोखिमको रुपमा पनि लिइएको विरबहादुर खड्काले बताउनुभयो । हावापानी र जमिन अनुसार राम्रै फल दिन्छ भन्ने आशा सहित यो खेती गरिएको खड्काले बताउनुभयो । ड्रागन फ्रुटको व्यवसायिक उत्पादन थालेसँगै उनिहरुले एउटा समूह पनि दर्ता गरेका छन् ।
समूह मार्फत नै कामकाज गर्न सजिलो होला भनेर ड्रागन फलफूल तथा ताजा तरकारी उत्पादन समूह दर्ता गरिएको छ । यही समूह मार्फत अनुदान, बीउ, तालिम माग तथा व्यवस्थापनको काम गरिरहेको अध्यक्ष विरबहादुर खड्काले बताउनुभयो ।
पहिलो पटक भएकाले पनि यो विरुवा हुर्काउन, बढाउन चुनौती देखिएको छ । सबै विरुवामा पोल राखि सकिएको छ । अब सबैमा टायर राख्ने बेला हुन लागेको किसानले बताएका छन् । उनिहरुले रातो र सेतो दुवै थरिको ड्रागन फ्रुटको खेती थालेका छन् । यसले २ देखि ३ वर्षमा फल दिन थाल्ने र कम्तिमा पनि १५ देखि २० वर्षसम्म फल दिने बताइएको छ ।