Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि तथा पशु बीमामा अनाकर्षण

रुकुम पश्चिममा कृषि तथा पशु बीमामा कृषकको आर्कषण बढ्न सकेको छैन । स्थानीय तहले किसानलाई कृषि तथा पशु बीमामा आकर्षण गर्नको लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरे पनि किसानको आर्कषण भने बढेको छैन । जिल्लामा ३ वर्ष देखि विभिन्न बीमा कम्पनीले कृषि तथा पशु बीमामा काम गर्दै आएका छन् ।

तीन वर्षको अवधिमा कृषि तथा पशु बीमा गर्ने किसानको संख्या भने न्युन छ । जिल्लाको मुसीकोट नगरपालिकाले पशु बीमाको लागि अनुदान दिएकाले मुसीकोटका केहि किसानले पशु विमा गरेको भए पनि जिल्लाको अन्य पालिकाहरुमा भने कृषि तथा पशु बीमा गराउनेको संख्या न्युन छ । मुसीकोट नगरपालिकाले तीन आर्थिक वर्षमा कृषि तथा पशु विमाको लागि विभिन्न नीति, कार्यक्रम तथा बजेट ल्याएको थियो ।

पहिलो आर्थिक वर्षमा किसानलाई ७५ प्रतिशत अनुदान दिएपछि किसानले बीमा गरेको तर पछिल्ला वर्षहरुमा भने त्यो संख्या घट्दै गएको नगरपालिका पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । सरकारले अनुदान दिएका किसान बाहेक अरु किसानले कृषि तथा पशु बीमा नगरेको उहाँको भनाई छ ।

किसानले पाउनु पर्ने बीमा हक दावी रकम पाउने पक्रिया निकै झन्जटिलो भएका कारण पनि बीमाप्रति किसानको आकर्षण कम भएको मुसीकोट नगरपालिका पशु सेवा शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो । त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले किसानले कुनै पनि पशु खरिद गर्दा लाग्ने लागत भन्दा कम रकममा बीमा गर्दा पनि समस्या आएको बताउनुभयो ।

किसानहरुलाई बाली तथा पशुको विमा गर्न पटक–पटक आग्रह गर्दा पनि किसान बीमा कार्यक्रममा आर्कषण नभएको उहाँको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले कृषि तथा पशु बीमा कार्यक्रम प्रभावकारी नहुनु दुखत भएको बताउनुभयो । कृषि तथा पशु बीमा गराउने बीमा कम्पनी, स्थानीय सरकारको समन्वय नभएकै कारण किसान बीमा कार्यक्रममा आकर्षण हुन नसकेको उहाँको भनाई छ ।

बीमा कार्यक्रमलाई प्रभावकारी गराउन पालिकाहरुको ठूलो भुमिका रहेको चन्दै प्रमुख शर्माले सबै पालिकाले बीमाको विषयमा किसानलाई प्रष्ट रुपमा बुझाउन सक्नु पर्ने बताउनुभयो । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमले कृषि तथा पशुपञ्क्षी बीमा सम्बन्धी छलफल गरेको हो । छलफलमा सहभागिहरुले बीमा कार्यक्रमको विषयमा विभिन्न धारणा राखेका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update