जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले कृषि तथा पशु बीमाबारे किसानलाई नै थाहा नहुनु दुःखद भएको बताउनुभएको छ । किसानका लागि महत्वपूर्ण भएको कृषि तथा पशु बीमाबारे किसानलाई जानकारी नगराइनु गम्भिर विषय भएको उहाँको भनाई छ ।
निर्जिवन बीमा कम्पनी एनएलजीले मुसीकोट खलंगामा आयोजना गरेको कृषि तथा पशु बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रमुख शर्माले स्थानीय तह, स्वय बीमा कम्पनी र यसका अभियान्ता बताउनेहरुले नै बीमाका बारेमा किसानलाई जानकारी नगराएकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
बीमा बारे जति प्रचार हुनुपर्ने हो त्यति नभएको प्रचार गर्नमा खास सरोकारवालाको ध्यान नपुगेकाप्रति पनि समन्वय प्रमुख शर्माले दुःख व्यक्त गर्नुभयो । किसानको हितमा रहेको बीमा बारे व्यापक प्रचार गर्नुपर्ने र सबै किसानलाई बीमामा आबद्ध गराउने गरी कार्यक्रम बनाउनुपर्नेमा उहाँको जोड छ ।
छलफल कार्यक्रममा किसानको सहभागिताबारे पनि उहाँले असन्तुष्टि जनाउनुभयो । छलफल कार्यक्रममा किसान नै सहभागि नभएपछि कार्यक्रमको औचित्य नहुने शर्माको भनाई छ । कार्यक्रममा सहभागिहरुले बीमाको बारेमा प्रचार प्रसार नभएको, भएपनि दावी भुक्तानी झन्जटिलो भएको बताएका थिए ।
कार्यक्रममा एनएलजी कम्पनीका केन्द्रीय कार्यालय प्रमुख समिरकुमार श्रेष्ठले कम्पनी सकेसम्म सबै किसानसम्म पुग्ने गरी काम गर्ने बताउनुभयो । अबको दावी भुक्तानीमा पहिलाको जस्तो झन्जटिलो नहुने गरी कार्यविधि र प्रणाली विकास भएको उहाँले बताउनुभयो । कार्यक्रममा अधिकारी बाख्रा पालन फार्म, टेकबहादुर ओली र सीता खत्रीलाई मृत्यु दावी भुक्तानी गरिएको थियो ।