नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईका निवर्तमान अध्यक्ष जय प्रकाश घर्ति मगरलाई ससम्मान विदाई गरीएको छ । समितिका कार्यवाहक अध्यक्ष विवश थापा मगरको सभापतित्वमा आयोजित विदाई तथा सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष जय प्रकाश घर्ति मगर र कार्यसमिति सदस्य नकस घर्ति मगरलाई विदाई गरीएको हो ।
लामो समयको जापान बसाईपछी आफु नफर्किने गरी जापान छोडेर स्वदेश फर्कन लागेको हुँदा अध्यक्ष घर्तिले गएको मार्च महिनाको २० तारीख आईतबारको दिन चालु बैठकमा राजीनामा पेश् गरेका थिए । उक्त बैठकमा सहभागी संरक्षक, सल्लाहकार तथा कार्यसमितिहरु सबैले उहाँको राजीनामा पत्रलाई अनुमोदन गरी स्विकार गरीदिए पछी बैठकले उही दिन उपाध्यक्ष विवश थापा मगरलाई कार्यवाहक अध्यक्ष चुन्ने निर्णय गरेको थियो ।
त्यस अनुरुप सोही दिन अध्यक्ष घर्ति मगरले थापालाई कार्यवाहक उपाध्यक्षको जिम्मावारी हस्तान्तरण गर्नुभएको थियो । जापान आएको केही समय देखिनै मगर संघमा आबद्ध भईआएका जय प्रकाश् घर्ति मगर २०१८ मा तत्कालीन अध्यक्ष विकास राना मगर नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष पदमा रही सक्रिय र प्रशंसायोग्य भुमीका निर्वाह् गर्नु भएको थियो ।
त्यसपछी २०२० मा भएको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका घर्तिले तोकाई क्षेत्रमा संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि विभिन्न भईपरी आउँने सामाजिक कार्यहरुमा उल्लेखनीय योग्दान दिँदै आएका थिए । कार्यक्रममा नेपाल मगर संघ जापानका केन्द्रिय संरक्षक कौडा बुढा मगरले केन्द्रिय समिति र तोकाई क्षेत्रिय समितिले तयार पारेको मायाको चिनो तथा सम्मान पत्र उहाँहरु दुई जनालाई हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष जय प्रकाश घर्ति मगर र सदस्य नकस घर्ति मगर दुवैजनाको उच्च प्रशंसा गर्नुभयो ।
नेपाल मगर संघ जापान केन्द्रिय समितिका अध्यक्ष तथा महासचिवको भौतिक अनुपस्थितिमा सम्मान पत्र हस्तान्तरण गर्ने सबै जिम्मेवारी संरक्षक ज्युलाई दिईएको हो । त्यस्तै जयप्रकाश घर्ति मगरले आफ्नो विदाई कार्यक्रमलाई सम्बोधन गर्दै करीब दुईबर्षको सहयात्रामा साथसपोर्ट गर्नुहुने सबै प्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले कार्यकालअवधि नसकिँदै जानुपरेकोमा दुख ब्यक्त गर्दै कार्यसमिति सँग माफी माग्नु भएको थियो ।
सचिव चिना रोका मगरको उदघोषणमा चलेको विदाई तथा सम्मान कार्यक्रम नागोयाको साकाय स्थित देउराली दोहोरी साँझको हलमा आयोजना गरीएको थियो । कार्यक्रममा मगर तथा गैरमगर नेपालीहरुको सानदार उपस्थिति रहेको थियो । निवर्तमान अध्यक्ष जया घर्ति मगर र सदस्य नकस घर्ति मगर केही दिनभित्रै स्वदेश प्रस्थान गर्ने छन् ।