रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले ति योजनाको अनुगमन गरेको हो । ४ नम्बर वडामा बनेको सहिद स्मृति भवन, ५ नम्बर वडामा निर्माणाधिन बुढुमष्ट मन्दिर निर्माणको कार्यको अनुगमन गरिएको हो ।
५ नम्बर वडाकै स्यार्पू पर्यटन विकास योजना, २ नम्बर वडाको कुनाखेत–थारकाट्टे–बसिनगैरा सडक र ४, २ र १ नम्बर वडाको सडकको अनुगमन गरिएको निमित्त जिल्ला समन्वय अधिकारी लालसिङ खड्काले जानकारी दिनुभयो ।
सम्पन्न भएका काम, भइरहेका काम र सम्झौता भएको तर सुरु भए नभएको बारे हेर्नका लागि अनुगमन गरिएको अधिकारी खड्काले बताउनुभयो । अनुगमनका क्रममा देखिएको अवस्थाबारे सम्बन्धित पालिका र समन्वय समिति हुँदै सम्बन्धित निकायमा प्रतिवेदन बुझाइने जनाइएको छ ।
जिल्ला समन्वय समितिकी उपप्रमुख इन्दिरा बुढा, सदस्य टेकबहादुर ओली, समन्वय अधिकारी खड्का, जिल्ला समन्वय समितिका नायब सुब्वा जितबहादुर ओली, बाँफिकोट गाउँपालिकाका इन्जिनियर बलबहादुर घर्ती लगायतले योजना अनुगमन गर्नुभएको हो ।