रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ को कानेबाङकी एक महिलाको ‘निसास्सिएर’ मृत्यु भएको छ । ६० वर्षिया पम्फा बोहराको आज बिहान साढे ९ बजेतिर सुतिरहेको बेला धुँवामा ‘निसास्सिएर’ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कोठाबाट धुँवाको मुस्लो निस्किएपछि छोरा ३० वर्षिय केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाईने हातका ५ वटा औला जलेको र सिरानी जलिरहेको थियो । धुँवाको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । घटना बारेमा स्थानीयले जानकारी गराएपछि साँख अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली खटिएको थियो । चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।