रुकुम पश्चिममा महिला र मानव अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाले स्थानीय तहमा महिलाको अर्थपुर्ण सहभागिता गराउन जिल्लामा रहेका राजनीतिक दललाई ध्यानाकर्षण गराएका छन् । महिला पुनःस्थापना केन्द्र(ओरेक) नेपाल, महिला मानव अधिकार रक्षक संजाल, नेपाल पत्रकार महासंघ लगायत १२ वटा संघ संस्थाले राजनीतिक दललाई ध्यानाकर्षण गराएका हुन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ध्यानाकर्षण गराईएको ओरेक नेपालका कार्यक्रम संयोजक दिपा धितालले जानकारी दिनुभयो ।
स्थानीय तहका लागि बिभिन्न पार्टीले उम्मेदवार छनोटको काम गरिरहेकाले महिलाहरुलाई स्थानीय तहमा अर्थपुर्ण सहभागिता गराउन आग्रह गरिएको उहाँको भनाई छ । महिलाहरुलाई स्थानीय तहको निर्वाचनमा त्यति चासो नदिएको जस्तो देखिएकाले पनि उनीहरुलाई अर्थपुर्ण जिम्मेवारी दिनुपर्ने बिभिन्न संघ संस्थाको भनाई छ । मंगलबार र बुधबार जिल्लामा रहेका सबै दलका कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाईएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै दलका प्रतिनिधिहरुले महिलाहरुलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने प्रतिबद्धता गरेका छन् ।