Kakhara सबैको खबर सम्पूर्ण खबर
खाबाङमा अब सहकारी बजार
सहकारी बजारमा खरिद गरिएको कृषि उत्पादन विक्री गरिँदै ।

खाबाङ बजारमा सहकारी बजार बन्ने भएको छ । भूमे गाउँपालिका २, को खाबाङ बजारमा एक सहकारी संस्था र लुम्बिनी प्रदेश सरकराले सयुंक्त रुपमा सहकारी बजार बनाउन लागेका हुन् । यसमा भूमे गाउँपालिकाको मारिङ बहुद्देश्यि सहकारीले ५० लाख र लुम्बिनी प्रदेश सरकारले ५० लाख गरी एक करोड लगानी हुनेछ । सहकारी बजार निर्माणको शिलान्यास समेत भएको छ । लुम्बिनी प्रदेशकी भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बजारको शिलान्यास गर्नुभएको छ ।

स्थानीय स्तरमा उत्पादित वस्तु खरिद र विक्री गर्ने गरी सहकारी बजार बन्न लागेको हो । सहकारी बजारका लागि आवश्यक भौतिक संरचना निर्माण सुरु गरिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा एक/एक सहकारी बजार बन्दैछन् । सोही कार्यक्रम अन्तर्गत रुकुम पूर्वको भूमेमा सहकारी बजार बन्न लागेको हो । मारिङ बहुद्देश्यि सहकारीले संरचना बन्नु अगावै स्थानीय किसानको उत्पादन किन्न सुरु गरिसकेको छ । सिमी, भाङो, टिमुर, फापर, कोदो लगायतका स्थानीय उत्पादन सहकारीले खरिद गरेर विक्री वितरण थालेको सहकारीका अध्यक्ष धनमान रोकाले जानकारी दिनुभयो । खाबाङ र चुनवाङमा संकलन केन्द्र राखेर स्थानीय उत्पादन विक्री वितरण गरिरहेको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

रुकुम पूर्वको उत्पादन अरु ११ जिल्ला बेच्ने र यहाँ आवश्यक चिज अन्य जिल्लाबाट ल्याउने गरी बजार स्थापना हुने सहकारीले जनाएको छ । यसमा भूमे गाउँपालिकाले पनि सहकार्य गरेको छ । लोपोन्मुख बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । यसका लागि ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । कोदो,फापर लगायतका लोपोन्मुख बाली विक्रीका लागि संकलन केन्द्र वा सहकारी बजारमा ल्याउने हरेक किसानलाई गाउँपालिकाले उक्त बालीको मूल्यको ५० प्रतिशत मूल्य थप दिने गरेको अध्यक्ष बुढाले बताउनुभयो । यसबाट लोपोन्मुख बालीको खेती बढ्ने र संरक्षण हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update