रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १ छिङमा रहेको एक सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र र जुस उद्योग स्थापना गर्ने भएको छ । किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउने अवस्थालाई मध्यनजर गर्दै सहकारीले कृषि उपज संकलन केन्द्र र छिङ फलफुल खेतीको लागि राम्रो सम्भावना भएकाले जुस उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हो ।
छिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषकको सहजताको लागि बिभिन्न योजना अघि सारेको छ । तरकारी संकलन केन्द्र र सहकारीको भवन निर्माण भैसकेको सहकारीका अध्यक्ष नरेन्द्रकुमार रोकायले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको १५ लाखमा हल सहितको भवन निर्माण भएको हो । हलमा कृषि उपज संकलन केन्द्र स्थापना गरिने उहाँको भनाई छ ।
कृषि उपज संकलन केन्द्र स्थापना पछि सहकारीले कृषिकले उत्पादन गरेका कृषि उपज खरिद गर्ने अध्यक्ष रोकायले बताउनुभयाे । सहकारीले किसानले उत्पादन गरेको कृषि उपज खरिद गरि वजारमा बेच्ने योजना बनाएको अध्यक्ष रोकायको भनाई छ । त्यस्तै सहकारीले जुस उद्योग स्थापनाको लागि प्रक्रिया पनि थालेको छ ।
सहकारीको नयाँ भवन रहेको जग्गामा जुस उत्पादनको लागि भवन निर्माण गरिने छ । ५ लाखमा भवन निर्माणको प्रक्रिया अघि बढेको सहकारीको भनाई छ । नगरपालिका र सहकारी संस्थाको २० प्रतिशत लगानी सहित १ लाख ६० हजारमा जुस उद्योगको सामाग्रि खरिद गरिएको छ । जुस उद्योगको लागि चाहिने आवश्यक कच्चा पदार्थ सहकारीले नै खरिद गर्ने सहकारीको योजना रहेको छ ।