Kakhara सबैको खबर सम्पूर्ण खबर
५६ कोठे भवनबाट सेवा प्रवाह थाल्यो चौरजहारीले
चौरजहारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५६ कोठे भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भर्खरै निर्माण सम्पन्न भएको प्रशासनिक भवनबाट नगरले वैशाख १ गतेबाट सेवा प्रवाह सुरु गरेको हो । नगरको केन्द्र रहेको २ नम्बर वडाको विजयश्वरीमा नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण भएको छ ।

५ तलाको यो भवनमा ५६ कोठा छन् । दुई वटा निर्माण कम्पनीले भवन निर्माणको काम गरेका हुन् । सुरुको स्ट्रक्चर निर्माणको कार्य खड्का कृष्ण–नारायण जेभीले गरेको थियो । भवन निर्माणको अन्तिम काम एम कन्ट्रक्सनले गरेको हो । खड्का कृष्ण– नारायण जेभीले २ करोड २५ लाखमा स्ट्रक्चरको काम गरेको थियो भने एम कन्ट्रक्सनले २ करोड ९० लाख रुपैयाँमा भवन निर्माणको सम्पूर्ण काम सकेको हो ।

नयाँ सहर आयोजनाले यो भवन निर्माणको ठेक्का लाएको थियो । एक वर्षको अवधिमा उक्त भवन निर्माण सम्पन्न भएको हो । अब सेवा प्रवाह थप चुस्त,दुरुस्त हुने नगरप्रमुख विशाल शर्माले बताउनुभयो । यस अघि विभिन्न ठाउँमा घुमेर विभिन्न घर तथा भवनमा घुमेर सेवा लिइरहेका सेवाग्राहीलाई अब सजिलै सेवा प्रवाह भइरहेको शर्माको भनाई छ ।

नगरका अरु धेरै महत्वपूर्ण काम मध्य यो पनि एउटा महत्वपूर्ण काम भएको नगरप्रमुख शर्माको भनाई छ । प्रशासनिक भवन निर्माणको काम सकिएपछि अब बाँकी दिनमा अरु विकासलाई प्राथमिकता दिन सहज हुने शर्माले बताउनुभयो । नगरपालिकाले यस अघि नै १० वडा कार्यालयको भवन बनाइसकेको छ । कार्यकालको अन्तिम समयमा पर्याप्त खालको प्रशासनिक भवन निर्माण भएपछि सेवाग्राही पनि खुसी भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update