आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नेपाली कांग्रेसले रुकुम पश्चिममा २ नगरपालिका प्रमुख, १ वटा गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति प्रमुखमा दावी गरेको छ । यसैगरी १ नगर उपप्रमुख २ गाउँपालिका उपाध्यक्ष र ३० वटा वडाध्यक्षमा कांग्रेसले दावी गरेको छ ।
कांग्रेसको यही बटमलाइनका कारण गठबन्धनको सम्भावना टरेर गएको छ । माओवादी केन्द्रले पनि गत स्थानीय तहको निर्वाचनमा सबै पालिका जितेको र त्यसकै मतभार अनुसार पालिका प्रमुख अध्यक्ष बाहेकका पद मात्रै बाँडफाँड गर्नुपर्ने दावी पेश गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक पालिका प्रमुख, २ वा सो भन्दा बढी उपप्रमुख १९ देखि २० वटा सम्म वडाध्यक्षमा दावी गरेको छ ।
जनता समाजवादी पार्टीले एक पालिका उपप्रमुख सहित ११ वडाध्यक्षको दावी गर्दा राष्ट्रिय जनमोर्चा १ वडाध्यक्ष, ६ वडा सदस्य र १ जिल्ला समन्वय समितिको महिला सदस्यमा दावी पेश गरेको छ । राजनीतिक दलले पेश गरेको दावी छाड्दै नछाडेपछि गठबन्धन हुनेतर्फ भन्दा पनि हुनेतर्फ अघि बढेको बैठकमा सहभागि एक नेताले बताए । सबै दलको दावी केन्द्रमा लेखि पठाइएको र केन्द्रबाट आउने निर्देशनका आधारमा थप निर्णय गर्ने ति नेताले जानकारी दिए । जिल्लामा ५ पटकसम्म गठबन्धन दलको बैठक बसेको थियो ।