रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले २ वटा नगरवस संचालन गरेको छ । जिल्लामा नगर वस संचालन गर्ने एक मात्र स्थानीय तह चौरजहारीले थप २ वटा नगर वस खरिद गरेको हो । ९८ लाख ५० हजारमा २ वटा नगरवस थपिएको नगरपालिकाले जनाएको छ । ३०/३० सिटका दुई वटा वस खरिद गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । नगरवासीलाई थप सहज यातायात सेवाका लागि नगरवस थप गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले यसअघि ३ वटा नगरवसबाट सेवा दिदै आएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ देखि ३ वटा नगर वस संचालनमा ल्याएको नगरपालिकाले अव भने ५ वटा नगर वसबाट सेवा दिन लागेको हो । नागरिकहरुलाई सहज, शुलभ र भरपर्दो यातायात सेवाका लागि नगरवस सेवा संचालनमा ल्याईएको नगर प्रमुख शर्माको भनाई छ । नगरका सबै १४ वटै वडामा एक/एक वटा वस व्यवस्था गर्ने नगरपालिकाको दीर्घकालिन लक्ष रहेको उहाँले बताउनुभयो । नगरपालिकाले निःशुल्क यातायात सेवा दिने बारेमा पनि योजना बनाईरहेको उहाँले बताउनुभयो ।
सबै नगरवासीले नगरका जुनसुकै ठाउँमा पुग्नका लागि पैसा तिर्न नपर्ने व्यवस्थाका लागि योजना बनाईरहेको नगर प्रमुख शर्माले बताउनुभयो । अहिले नगरपालिकाले ५ युनिटसम्मको पानी निःशुल्क बनाएको, ५ कक्षासम्मका विद्यार्थीका लागि निःशुल्क पोषाकको व्यवस्था गरेको र आगामी दिनमा ३० युनिटसम्मको बिद्युत निःशुल्क गर्ने, कक्षा १० सम्म निःशुल्क पोषाकको व्यवस्था गर्ने, सबै नगरवासीको निःशुल्क स्वास्थ्य वीमा गर्ने लक्ष राखिएको शर्माले बताउनुभयो ।