नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका रुकुम पश्चिममा पनि उम्मेदवार टुंग्याएको छ । गाउँ कार्यपालिका बैठक आगामी स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । गाउँ कार्य समिति सचिव सन्तोष ओलीका अनुसार अध्यक्षमा अमरसिङ खड्का र उपाध्यक्षमा सृष्टि बाँठा मगरको नाम जिल्ला कार्य समितिमा सिफारिस गरिएको छ ।
खड्का ९ नम्बर निवासी हुनुहुन्छ भने बाँठा ४ नम्बर वडा निवासी हुनुहुन्छ । खड्का हिमालय जनता माविको बहालवाला प्रधानाध्यापक पनि हुनुहुन्छ । सिफारिस अनुसार नै निर्णय हुने बताइएको छ । वडाध्यक्षहरुको हकमा भने २ दिन भित्रै सबै वडाको टुंग्याउने गरी छलफल भइरहेको कार्य समिति सचिव ओलीले बताउनुभयो ।
कांग्रेसले बाँफिकोटमा जनककुमार बाँठालाई अध्यक्ष र नन्दा केसीलाई उपाध्यक्षमा यस अघि नै सिफारिस गरेको छ भने सानीभेरी गाउँपालिकाले अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरेको छ । गठबन्धनको नाउँमा नअल्झेर चुनावी कार्यक्रममा जुट्नुपर्ने भन्दै कार्यकर्ताहरु चुनावी अभियानमै लागिरहेको सचिव ओलीले बताउनुभयो ।