Kakhara सबैको खबर सम्पूर्ण खबर
पैले र दलबहादुरको ‘रसिलो’ व्यवसाय

रुकुम पश्चिमको सानोभेरी ५ घापाघारका पैले पुन र मुसीकोट नगरपालिका ६ का ट्याखोलाका दलबहादुर बोहराको फरक व्यवसाय छ । जिल्ला सदरमुकाम खलंगामा अलि फरक व्यवसाय गर्ने यी दुई मात्रै हुन् । उनिहरु दुवैले ५ वर्षदेखि उखुको जुस उत्पादन विक्री गरिरहेका छन् । पुनले पातुखोला नजिक उखु पेल्नुहुन्छ भने बोहराले त्रिवेणीचौक नजिकै उखुको जुस पेल्ने र बेच्ने गर्नुहुन्छ । पुनले सुरुमा जुस पसल सञ्चालनको लागि १ लाख ५० हजार र उखु उत्पादनको लागि ७० हजार लगानी गर्नुभएको थियो ।

यता त्रिवेणी चोक नजिकै जुस पसल सञ्चालन गर्नुभएका  बोहराले पनि जुस बेच्नको लागि पसल निर्माण गर्दा र  उखु पेल्ने मेसिन खरिद गर्दा ४ लाख रकम लगानि भैसकेको बताउनुभयो । पुनले अर्काको जग्गा  भाडामा  लिएर उखु उत्पादन गर्नुहुन्छ । ३ रोपनी जग्गा भाडामा लिएर उखु उत्पाद सुुरु गर्नुभएका पुनले थप ३ रोपनी बढाएर ६ रोपनिमा उखु उत्पादन गर्ने सोच रहेको बताउनुभयो ।

पुनले अहिले मुसिकोट नगरपालिका वडा नम्बर २ गाउँबारी टोलमा  जग्गाको वार्षिक २० हजार रकम भाडा तिरेर ३ रोपनिमा उखु उत्पादन गरिरहनुभएको छ । बोहराले भने उखु उत्पादन गर्नको लागि आफै प्रशस्त जग्गा रहेको बताउनुभयो । सुरुमा २२ रोपनी बाट उखु उत्पादन सुरु गर्नुभका बोहराले भने अहिले घटाएर १२ रोपनीमा मात्रै उत्पादन गरेको बताउनुभयो । बोहराले आफ्नो जुस पसलको लागि आफुले उत्पादन गरेको उखुले पुग्छ भने पुनलाई आफुले उत्पादन गरेको उखु नपुगेर बाहिरबाट उखु खरिद गरेर ल्याउनुपर्छ ।

सुरु को वर्ष २०७४/०७५  सालमा उखुको जुस बेचेर पुन र बोहराको सोचेजति कमाई भएपनि ०७६/०७७ मा भने कोरोणाले गर्दा सोचेको जस्तो कमाई दुबैको हुन नसकेको भनाई रहेको छ । कोरोणा महामारीले गर्दा वितेको २ वर्ष खाना वस्न र पसलको भाडा समेत तिर्न मुश्किल भएको पुन र बोहराको भनाई रहेको छ । पुनको ०७६/०७७ सालमा ४ लाख बाट ८ लाख जुस पसलबाट कमाई गर्ने लक्ष्य भएपनि सोचेको भन्दा उल्टो भएर १ लाख ५० हजारमा झरेर लगानि गरेको रकम नै उठाउन नसकेको भनाई छ ।

बोहराको पनि समस्या फरक छैन । उहाँको पनि २ वर्षको लकडाउनमा उखु बेच्न नपाउँदा बारीमै उखु सुकेर  पहिलो वर्ष २ लाख र दोस्रो वर्ष १ लाख  गरेर ३ लाख बरावरको उखु सुकेर नस्ट भएको बताउभयो । यो वर्ष भने दुवैको व्यवसाय राम्रै भएको छ ।  पुनले दैनिकि ३० देखि ४० किलो सम्म उखु बेच्नु हुन्छ । २० रुपियाँ प्रति किलोमा उखु खरिद गरेर प्रति गिलास ३० रुपियामा उखु पेलेर जुुुस बेच्नुहुन्छ । १ किलो उखु पेलेर ३ गिलास जुुस आउने उहाँको भनाई छ । बेच्नको लागि बजारको भने कुनै समस्या नरहेको बताउभयो ।  

बोहराको पनि दैनिक सय उखुको जुस विक्छ । जुस पेलेर बेच्नमै वेस्त हुनुहुन्छ । बोहराले कमाई पनि दैनिक १२ सय देखि १५ सय सम्म आम्दानी भइरहेको छ । पुन र बोहराले अनुदान पनि पाईसक्नुभएको छ । पुनले कर्णालि प्रदेश सरकारको  भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाट ६ लाख वजेट प्राप्त गर्नुभएको हो भने बोहराले कृषि विकास कार्यालय बाट ५० हजारको मेसिन खरिदको लागि बजेट अनुदानमा प्राप्त गर्नुभएको छ । उखु जुुस खाने समय फागुन देखि असार सम्म हुने भएकाले यो ५ महिनाको अवधिमा लकडाउन नभए ५ लाख रुपैयाँ कमाउने लक्ष लिइएको बोहराले बताउनुभयो । पुनको पनि ५ महिनाको अवधिमा ८ लाख कमाउने लक्ष्य रहेको बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update