Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुत स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ मा रहेको सिम्रुतु स्वास्थ्य चौकीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिम्रुतु बजार नजिकै गत आर्थिक वर्षबाट निर्माण थालिएको भवन निर्माणको काम चालु आर्थिक वर्षमा सक्ने लक्ष राखिएको छ । 

भवन निर्माणमा गत वर्ष १ करोड बजेट खर्च भएको थियो । यो वर्ष ९६ लाख बजेट आएको त्रिवेणि गाउँपालिका २ का वडाध्यक्ष शोभाराम बोहराले जानकारी दिनुभयो । यो बजेट संघीय सरकारबाट आएको हो । भवन निर्माणको काम लगभग सकिएको उहाँको भनाई छ । 

अव प्लस्तर, धारा जडान, रङ रोगन लगायतका फिनिसिङका काम बाँकी रहेको छ । बाँकी रहेका काम गर्नका लागि ठेक्का लागिसकेको वडाध्यक्ष बोहराले बताउनुभयो । स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने लक्ष राखिएको र सोही अनुसार भवन निर्माणको काम भइरहेको वडाध्यक्ष बोहराले बताउनुभयो । 

कुल ३ करोड लागत लाग्ने गरी डिजाईन स्टामेट तयार भएको र बाँकी कामका लागि बजेटको पहल भइरहेको समेत उहाँले बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि हालको सिम्रुतु स्वास्थ्य चौकीको काम नयाँ भवनबाट सुरु हुने छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update