Kakhara सबैको खबर सम्पूर्ण खबर
यि हुन रुकुम पश्चिममा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको तयारी रुकुम पश्चिममा पनि तिव्र पारिएको छ । बैशाख ८ गते बिहिबार स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै छ । मुसीकाेटमा भने मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रहने छ । जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटिएका छन् । मुसीकोटमा जिल्ला न्यायाधीश विद्याराज पौडेल मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ । अन्य ५ स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आठबीसकोट नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गणेशकुमार गौतम, चौरजहारी नगरपालिकामा जिल्ला न्यायाधीवक्ता द्रोणदत्त पौडेल निर्वाचन अधिकृतका रुपमा खटिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो । त्यस्तै बाँफिकोट गाउँपालिकामा जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहरा, सानीभेरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बुटवलका उप सचिव कमानसिंह थापा मगर र त्रिवेणी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कृतिबहादुर बस्नेत खटिनुभएको छ । 

केही स्थानीय तहमा अधिकृतहरु गइसकेको र केहीमा गइरहेको बताउनुभयो । भोली सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । प्रत्येक कार्यालयमा ८ जना कर्मचारी रहने छन् । कर्मचारी भने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले नियुक्त गर्ने छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update