स्थानीय तहको निर्वाचनका लागि रुकुम पूर्वमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटिएका छन् । जिल्लाको सिस्ने गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने छ भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत खटिएका हुन् । कार्यालय भने बैशाख ८ गते बिहिबार स्थापना हुने जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सनतचन्द्र लवट रहनुभएको छ । त्यस्तै भूमेको निर्वाचन अधिकृत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव विमलप्रसाद बराल र पुथाउत्तरगंगा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत नारायणप्रसाद चापागाई निर्वाचन अधिकृत हुनुहुन्छ ।
निर्वाचन अधिकृतहरु सम्बन्धित स्थानीय तहमा पुगिसकेका छन् । ३ स्थानीय तह र ३१ वटा वडा रहेको रुकुम पूर्वमा स्थानीय तहको निर्वाचनका लागि ३५ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र तोकिएको छ ।