रुकुम पश्चिमको आठबीसकोट नगरपालिका राडीबजारमा अनश्चितकालिन निषेधाज्ञा लागेको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधको आदेश जारी गर्नुभएको हो । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।
राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सृजना गर्न खोजिरहेकाले निषेधाज्ञालगाइएको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । तोकिएको क्षेत्रभित्र नगर्नु भनिएका गतिविधि गरेको पाइएमा कानून अनुसार कारबाही हुने प्रजिअ गैह्रेले बताउनुभयो ।
यी चार किल्ला भित्र एकै ठाउँमा ४ जना भन्दा बढी उभिन नपाउने, भेला तथा भिडभाड गर्न नपाउने, विरामी बोकेका गाडि, खाद्यान्न बोकेका गाडि बाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल नचलाउन भनिएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको छ । दिनभर झडप भएपछि राडीबजारमा तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर समेत गरेको छ ।